पाल्पा र उदयपुरका मौसम राडार सन्चालनमा



नागरिक अपडेट


काठमाडौं । मौसमी गतिविधिलाई निगरानी गर्न जल तथा मौसम विज्ञान विभागले स्थापना गरेका तीनवटा राडारमध्ये दुईवटा सन्चालनमा आएका छन् । पाल्पा र उदयपुरका राडार सन्चालनमा आएका हुन् । सुर्खेतको राडार भने अझै सञ्चालनमा आउन सकेको छैन ।

Advertisement

पाल्पा र उदयपुरका राडार सञ्चालनमा आएपछि मनसुनको बेला रियल टाइममा मौसमी गतिविधि थाहा पाउन सजिलो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका उपमहानिर्देशक सुमन कुमार रेग्मीका अनुसार जुन १५ देखि पाल्पा र उदयपुरका राडार नियमित चलिरहेका छन् । ती राडारले रियल टाइम (वास्तविक समय)मा वायुमण्डलको गतिविधि भिडियोसहित देखाइदिने भएकाले मौसम प्रक्षेपणमा सहज भएको छ ।

Advertisement

पाल्पामा जडान गरिएको राडारले जल तथा मौसम विज्ञान विभागको कम्प्युटरमा देखाएको दृष्य

‘यी राडारहरुले २५० किलोमिटरसम्म टाढामा वायुमण्डलमा के गतिविधि भइरहेको छ भनेर स्क्यान गर्छन्,’ उपमहानिर्देशक रेग्मीले अनलाइनखबरसँग भने, ‘कुन ठाउँमा हावाको गतिविधि कस्तो छ, जलवाष्प कति छ, चट्याङ, असिना र हिउँ पर्ने खालको बादल पो छ कि, त्यो बादल कतातिर कुन गतिमा मुभ भइरहेको छ भन्ने जस्ता सबै सूचनाहरु रियल टाइममा देखाइदिन्छ ।’

जल तथा मौसम विज्ञान विभागको उपकरण तथा क्यालिब्रेसन शाखा प्रमुख एवं वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलका अनुसार स्वचालित मौसम केन्द्रहरुबाट प्राप्त हुने तथ्यांक भन्दा पनि राडारका तथ्यांक गुणस्तरीय हुन्छन् । राडारले विभागमा रहेका कम्प्युटर सिस्टममा रियल टाइममा पठाउने भिजुअल दृष्य विश्लेषण गरेर मौसम सम्बन्धी सूचना प्रवाह गर्न सकिन्छ ।

‘राडारले कम्प्युटरमा पठाउने तथ्यांकलाई विश्लेषण गरेर वर्षा, हुरीबतास, चट्याङ, हिमपात, असिना जस्ता सम्भावित मौसमी घटना रियलटाइममा भन्न सकिन्छ र मौसमजन्य विपदबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सहयोग गर्दछ,’ वरिष्ठ मौसमविद डा. कँडेलले भनिन्, ‘मौसम तथा जलवायु मोडल विकास र मौसमले प्रभाव पार्ने विभिन्न विषयमा अध्ययन–अनुसन्धानमा पनि राडारको तथ्यांक उपयोगी हुन्छ ।’

उदयपुरमा जडान गरिएको राडारले जल तथा मौसम विज्ञान विभागको कम्प्युटरमा देखाएको दृष्य

मौसमी अवस्थाको तथ्यांक संकलनका लागि जल तथा मौसम विज्ञान विभागले अमेरिकी कम्पनी इन्टरप्राइज इलेक्ट्रोनिक कर्पोरेसन (ईईसी)बाट २०–२० करोड रुपैयाँ खर्च गरेर अत्याधुनिक राडार किनेको थियो । पूरै नेपालको भूगोल समेटिने गरी कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको पाल्पा र कोशी प्रदेशको उदयपुरमा ती राडार जडान गरिएको थियो ।

नेपालमै पहिलोपटक सुर्खेतको रातानाङ्लामा स्थापना गरिएको मौसमी राडारको उदघाटन १७ मंसिर २०७६ मा तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले गरेका थिए । तर त्यो राडार चट्याङ लाग्ने लगायतका कारण र मर्मत सम्भारमा अमेरिकी कम्पनीलाई नै बोलाउनुपर्ने बाध्यताका कारण हालसम्म पनि बन्द छ ।

पाल्पाको रिब्दिकोट डाँडा र उदयपुरको चित्रेडाँडामा स्थापना गरिएका राडारहरु भने केही महिना बन्द भए पनि जुन १५ यता चलिरहेका छन् ।

चुनौती
राडारका रेडियो वेभ सरल रेखामा जाने र पहाडले छेकिदिने हुँदा पहाडभन्दा पछाडि रहेका उपत्यका तथा टारहरुको अवस्था भने हालका राडारहरुबाट थाहा पाउन कठिन हुने विभागका अधिकारीहरु बताउँछन् ।
सुर्खेतमा जडान गरिएको मौसमी राडार । हाल यो बन्द अवस्थामा छ ।

उपमहानिर्देशक रेग्मी भन्छन्, ‘सकेसम्म अग्लो स्थान रोजेर राडार जडान त गरिएको छ । तर उत्तरी भूभागका सबै क्षेत्र समेटिदैन । किनभने अग्ला–अग्ला हिमाल र हिमालले राडारको वेभलाई छेकिदिन्छ ।’

उपत्यका तथा टारहरुको विस्तृत वायुमण्डलीय अवस्थाबारे जानकारी लिनका लागि छुट्टै साना प्रकृतिका (जस्तै– एक्स ब्याण्ड) राडार राख्नुपर्ने विभागका कर्मचारीहरु बताउँछन् ।

सुर्खेतमा जडान गरिएको मौसमी राडार । हाल यो बन्द अवस्थामा छ ।

हाल चलिरहेका मौसम राडार पनि नियमित सञ्चालनका लागि अविछिन्न विद्युत आपूर्ति, इन्धन र पावर व्याकअप सिष्टमको उचित व्यवस्थापन आवश्यक देखिएको वरिष्ठ मौसमविद डा. कँडेलको भनाइ छ । उनका अनुसार कहिलेकाहीँ उच्च भोल्टेजमा प्रवाह हुने बिजुली र पहाडी भूभागमा हुने चट्याङको असरले गर्दा राडार नियमित सञ्चालनमा चुनौति हुने गरेको छ ।

राडार अत्याधुनिक मौसम उपकरण भएकाले नियमित सन्चालनका लागि राडार इन्जिनियर तथा राडार मेटेरियोलोजिष्टहरु व्यवस्थापनको पनि खाँचो देखिएको छ । राडार मर्मत गर्न सक्ने दक्ष प्राविधिक जनशक्ति अभाव भएकाले अप्ठ्यारो हुने गरेको जल तथा मौसम विज्ञान विभागका अधिकारीहरु बताउँछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया