इजरायल जाने ६६ नेपालीसँग सम्झौताको तयारी,सरकारले बोलायो सम्पर्कमा



नागरिक अपडेट


काठमाडौं । इजरायलमा सहायक श्रमिक (केयर गिभर)को रुपमा जान छानिएका ६६ जना नेपालीलाई करार सम्झौताका लागि सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

Advertisement

इरानसँगको युद्धको त्रास कम भएसँगै इजरायलले ६६ जना नेपालीको सम्झौता पत्र पठाएपछि विभागले भिसा लगायत थप प्रक्रियाका लागि सम्पर्कमा बोलाएको हो । वैदेशिक रोजगाार विभागका अनुसार असार २० गते र २२ गते सम्पर्क मिति तोकिएको छ ।

Advertisement

क्रमसंख्या १ देखि ३३ सम्मका उम्मेदवारहरुलाई असार २० गते बिहान साढे १० बजे र ३४ देखि ६६ सम्मका उम्मेदवारहरुलाई असार २२ गते बिहान साढे १० बजे विभागको कार्यालय ताहचल काठमाडौंमा आउन भनिएको छ ।

Advertisement

सम्बन्धित उम्मेदवारहरुबाट सम्झौता गराई पीआईबीए, इजरायल पठाउन एवं भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर डिभिजनमा समेत पठाइने भएकाले सम्पर्कमा बोलाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार इजरायल र इनरानबिच युद्ध चर्किएपछि इजरायल जाने रोकिएको थियो । अहिले युद्धको त्रास कम भएसँगै पुन: करार सम्झौता प्रक्रिया अघि बढेको हो । इजरायल जानका लागि छनोट भएका अरु नेपाली कामदारको पनि करार सम्झौतापत्र आउने वैदेशिक रोजगार विभागको विश्वास छ ।

पहिलो लटमा ६०० महिला र ४०० पुुरुष गरी एक हजार जनाको स्वास्थ्य परीक्षण गर्दा ९२३ जना सफल भएका थिए । उनीहरुले पूर्वप्रस्थान अभिमुुखीकरण तालिमसमेत लिईसकेका छन् । उनीहरु इजरायल जाने पर्खाइमा छन् । इजरायल सरकारले करार सम्झौता पठाएपछि भिसा लगायत प्रक्रिया पूरा गरेर उनीहरु इजरायल जान पाउने छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया