काठमाडौँ । एएफसी महिला एसियन कप २०२६ को छनोटमा नेपाल र उज्बेकिस्तानबिचको निर्णायक भिडन्त शनिबार हुँदैछ । समूह एफमा रहेका दुवै टोलीको दुई खेलपछि समान अङ्क रहेको छ । दुई टोली बिच आज हुने भिडन्तले अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने प्रतियोगिताका लागि छनोट हुने टोलीको टुङ्गो लाग्नेछ ।
सो खेल बुन्योडकोर स्टेडियममा नेपाली समयअनुसार ९ बजेर १५ मिनेटमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलको विशाल अन्तरले हराएको थियो । त्यस्तै, दोस्रो खेलमा श्रीलंकामाथि ८–० को शानदार जित हात पारेको थियो । उता, आयोजक उज्बेकिस्तानले पहिलो खेलमा श्रीलङ्कालाई १०–० गोल अन्तर तथा दोस्रो खेलमा लाओसलाई ७–० गोलले पराजित गर्यो ।
२ खेलपछि नेपाल र उज्बेकिस्तानको समान ६–६ अङ्क रहेको छ । दुवै टोलीको गोल अन्तरले पनि समान १७ नै छ । दुवै टोलीले आफ्ना विपक्षीविरुद्ध १७ गोल गर्दै कुनै पनि गोल खाएका छैनन् । यो समूहमा रहेका लाओस र श्रीलङ्का अङ्कविहीन छन् । शनिबार हुने खेल जिते नेपाल सन् १९९९ पछि पहिलो पटक एसियन कप खेल्नेछ ।
नेपालले सन् १९८६ मा हङकङमा आयोजित प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको थियो । त्यति बेला समूह चरणका सबै खेल हारेर नेपाल बाहिरिएको थियो । त्यस्तै, सन् १९८९ मा एएफसी वुमन्स च्याम्पियनसिपमा टोलीले भाग लिएको थियो । यस पटक पनि समूह चरणका सबै खेल हार्दै टोली बाहिरिएको थियो ।
त्यसपछि सन् १९९९ मा फिलिपिन्समा आयोजित प्रतियोगितामा नेपाल सहभागी भयो । समूह सीमा रहेको नेपालले ४ खेल खेलेको थियो । यसपटक पनि नेपाल समूह चरणबाट नै बाहिरिएको थियो । सो प्रतियोगिताको समूह चरणमा नेपाल र उज्बेकिस्तान आमनेसामने भएका थिए ।
सो खेलमा नेपाललाई उज्बेकिस्तानले ६–१ को विशाल अन्तरले पराजित गरेको थियो । यसअघिका संस्करणमा नेपालले छनोट चरण नखेली प्रतियोगितामा सहभागी भएको थियो । नेपाल पहिलो पटक छनोट चरण पार गरेर प्रतियोगिता खेल्ने दाउमा रहेको छ ।
बराबरी भए पेनाल्टीबाट निर्णय
छनोट प्रतियोगिता र नेपालको समूहको अन्तिम प्रतियोगिता भएका कारण आजको खेलमा दुई टोलीबिच बराबरी भएमा पेनाल्टी हुनेछ । एएफसीले छनोट प्रतियोगिताको अन्तिम खेल भएका कारण गोल अन्तरमा दुवै टोली बराबरी अवस्थामा पुग्दा पेनाल्टी सुट आउटबाट खेलको निर्णय हुने नियम बनाएको हो ।