काठमाडौँ । एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को उपाधिका लागि शनिबार बिहान नेपालले सिंगापुरको सामना गर्दैछ । नेपालले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको हो ।
खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको छ । योसँगै नेपालले पहिले बलिङ गर्नेछ । खेल मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभलमा नेपाली समय अनुसार बिहान ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
नेपाल प्रतियोगिताको साबिक विजेता पनि हो । नेपालसँग लगातार दोस्रो पटक यो उपाधि जित्ने अवसर रहेको छ । नेपालले पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो । फाइनलिस्ट रहेका नेपाल र सिंगापुर दुवै समूह चरणमा एउटै समूह ‘ए’ मा थिए ।
यो पनि
नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने सिंगापुर उप–विजेता बनेर सेमिफाइनलमा पुगेको थियो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । नेपालले पहिलो सेमिफाइनल खेलमा मलेसियाको सामना गरेको थियो ।
सुरुवाती ब्याटिङ गरेको मलेसियालाई नेपालले ४३.१ ओभरमा मात्र ९० रनमा सीमित गर्यो । मलेसियाले प्रस्तुत गरेको झिनो लक्ष्य नेपालले मात्र ११.४ ओभरमा १ विकेटको क्षतिमा पछ्यायो । उता, सिंगापुरले दोस्रो सेमिफाइनलमा हङकङ चाइनालाई ४ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गर्यो ।





