भेरी र हिमा नदीमा दुई जना बेपत्ता



नागरिक अपडेट


सुर्खेत । बुधबार सुर्खेत र जुम्लामा भएका दुई छुट्टाछुट्टै घटनामा एक वृद्ध र एक बालक नदीमा बेपत्ता भएका छन् । सुर्खेतमा एक ६० वर्षीय वृद्धले भेरी नदीमा हाम फालेका छन् भने जुम्लामा ५ वर्षीय बालकलाई हिमा नदीले बगाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, गुर्भाकोट नगरपालिका–११ सिमखोलीका ६० वर्षीय गोपाल वलीले दिउँसो करिब २ः२० बजे गुर्भाकोट–१०, भेडावारीस्थित भेरी नदीको पुलबाट हाम फालेका हुन् ।

Advertisement

प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मोहनजंग बुढथापाले घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मेहलकुनाबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र अधिकारीको कमाण्डमा ५ जनाको टोली खटाएर खोजी कार्य सुरु गरिएको बताए ।

Advertisement

हाल प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी भइरहेको छ, तर उनको अवस्था अज्ञात छ ।यस्तै, जुम्लाको हिमा गाउँपालिका–७ बागबजारमा स्थानीय अभेन्द्र शाहीका ५ वर्षीय छोरा यमन शाहीलाई हिमा नदीले बगाएर बेपत्ता बनाएको छ ।

प्रहरीका अनुसार यमन दिउँसो करिब २ः५० बजे नदी किनारमा बालुवा खेल्दै गर्दा अचानक नदीले बगाएको थियो । घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट जुगार्डबाट प्रहरी निरीक्षक डेनी थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा बालकको खोजी कार्य तीव्र पारिएको छ । तर, नदीमा पानीको बहाव बढेकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया