पूर्वी तराईमा मनसुन थप सक्रिय, मधेश प्रदेशमा पनि पानी पर्ने सम्भावना



नागरिक अपडेट


काठमाण्डौ – पर्याप्त पानी नपरेर रोपाइँ प्रभावित भएको पूर्वी तराईमा मनसुन थप सक्रिय हुन थालेको छ । झापा, मोरङ लगायतका जिल्लामा पानी पर्न थालेको र विस्तारै मधेश प्रदेशमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमबिद् डेभिड ढकालले जानकारी दिनुभयो ।

Advertisement

पूर्वी क्षेत्रमा मनसुनी न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेकाले वर्षा हुन थालेको महाशाखाले जनाएको छ । यस्तै मौसमबिद् उज्ज्वल उपाध्यायले पुर्वी तराईका जिल्लाहरु झापा, मोरङ, सुनसरी र सप्तरीमा भोलि दिउँसोसम्म र सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा भोलि बेलुकादेखि पर्सि बिहानसम्म ठूलो पानी पर्ने सम्भावना रहेको बताउनुभयो ।

Advertisement

उहाँका अनुसार चुरेपहाडको फेद अर्थात् महेन्द्र राजमार्गको उत्तरी भू–भागतिर बढी र दक्षिणी भू–भाग अर्थात् भारतसँगको सीमावर्ती क्षेत्र तिर अलि कम वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज राति पूर्वी तराईसहित गण्डकी, लुम्बिनी र वागमती प्रदेशका केही ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा खोटाङ र ओखलढुङ्गामा एक सय मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ । पछिल्लो ६ घण्टामा भने झापा, मोरङ, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, दोलखा, सिन्धुपाल्चोकसहित काठमाण्डौ आसपासका क्षेत्रमा पनि पानी परेको छ । काठमाण्डौबाट पश्चिमतर्फ भने मध्यपहाडी क्षेत्र केन्द्रित सामान्य बर्षा भएको छ ।

अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्ष भइरहेको छ । तत्काल चेतावनी जारी गर्नुपर्ने अवस्था नरहेको तर लगातार पानी परिरहेको ठाउँमा सामान्य वर्षाले पनि क्षती गर्न सक्ने भएकोले सावधानी अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया