गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित घरमा आगलागीमा एक महिलाको मृत्यु भएको छ। आइतबार बिहान करिब ३ बजे अचानक घरमा आगलागी हुँदा ३० वर्षीया जुना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गङ्गाबहादुर सारुले जानकारी दिए ।
मृतक जुना मानसिक समस्याबाट पीडित थिइन। उनी आमा ७० वर्षीया मनिदेवी विकसँगै बस्दै आएकी थिइन । प्रहरीका अनुसार आगलागी हुँदा घरभित्र मायादेवी विकसहित उनका दुई नातिहरू श्रीधर र अरुण विक थिए । तर,उनीहरू सबै सकुशल रहेका छन् । ती नातिहरू मनिदेवीका छोरातर्फका हुन्।
जस्ताले छाएको एकतले कच्ची घर आगलागीका कारण पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीको कारण अझै खुलेको छैन। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी धुर्कोटबस्तुबाट प्रहरी सहायक निरीक्षक बेगम खड्काको कमाण्डमा चारजनाको टोली खटिएको थियो । घरमा लागेको आगो बिहान नै प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आइसकेको छ।
प्रहरीका अनुसार आगलागीबाट घरभित्रका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। मृतकको शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।