तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १, बरादीस्थित पृथ्वी राजमार्गमा आइतबार साँझ भएको स्कुटर दुर्घटनामा एक जनाको ज्यान गएको छ । साँझ करिब ६ः१० बजे डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको को २८ प २४२२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा स्कुटर चालक सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ८ बस्ने २९ वर्षीय समीर कार्की गम्भीर घाइते भएका थिए । उनलाई तत्काल आँबुखैरेनी अस्पताल पुर्याइएको थियो ।
त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि चितवनको सीएमसी अस्पताल रिफर गरिएकोमा साँझ ७ः३५ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।