पाल्पा — केही दिनयता सामाजिक सञ्जालमा पाल्पाको डुम्रे खोला रातै बगेको फोटो/भिडियो भाइरल बनेको छ । प्रहरीले खोलारातै बनेको रंगका विषयमा चासो देखाए पनि स्थानीय तह, वातावरणसँग चासो राख्ने निकाय र स्थानीय प्रशासनले भने यस विषयलाई महत्त्व दिएका छैनन् ।
तानसेन नगरपालिका–८ र तिनाउ गाउँपालिका–६ को सिमाना माथिल्लो डुम्रेबाट केही दिनअघि खोलारातै भएर बगेको फोटो–भिडियो भाइरल बनेको थियो । ठिमुरेतर्फबाट आउने खोलामिसिएको तल्लो डुम्रे तथा गौडे पुल क्षेत्रमै पानी रातै भएर बगेपछि स्थानीयले टिकटक, रिल र अन्य भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
स्थानीय बासिन्दाका अनुसार चार/पाँच वर्षअघि माथिल्लो डुम्रेमा रजनी राना र मुना थापाले साबुन बनाउने उद्योग सञ्चालन गर्थे । अहिले उद्योग बन्द भएको चार वर्ष भइसकेको छ । साबुन बनाउने उद्योग बन्द गरेर रजनी बुटवल र मुना काठमाडौं बस्छन् । तर केही दिनअघि रजनी घरमा आएको समयमा केटाकेटीले चलाउने समस्याबाट मुक्ति पाउन साबुन बनाउन प्रयोग गरिने रंग (कलर) पानीमा फ्याँकेकी रहिछिन् ।
‘प्रयोग गर्न नमिल्ने बिग्रेको (ड्यामेज) रंग कोठा सफा गर्ने क्रममा फालेको हो,’ रजनीले भनिन्, ‘मैले पानी नै पूरै रातै होला भन्ने जानेर फालेकी होइन ।’ उनले सामान्य रंग भएकाले कुनै असर गर्ला भन्ने नजानेर फालेकी बताइन् ।
पानी रातै भएर बगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तल्लो डुम्रे, गौडे पुल क्षेत्रका बासिन्दाले पनि पानी रातो भएकामा चासो देखाएका हुन् । प्रहरी चौकी प्रभासले त्यसपछि पानी संकलन गरी ल्याबका लागि ल्याएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले पानी परीक्षणका लागि प्रशासनलाई बुझाएको बताए । जिल्ला प्रशासन कार्यालयकी अधिकृत रमा श्रेष्ठले प्रहरीले पानी ल्याएको जानकारी दिइन् । उनले जिल्ला अस्पताल र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा ल्याब परीक्षण हुन नसकेको बताइन् । प्रहरीले बोतलमा ल्याएको पानी सफा भइसकेकोसमेत बताइन् । विधिविज्ञान प्रयोगशालामा पठाउनुपर्नेमा अहिलेसम्म नपठाएको उनले बताइन् ।
प्रहरीले रातो बगिसकेपछिको पानी ल्याएको उनको भनाइ छ । ‘हामीलाई ल्याएर दिएको पानी सफा छ,’ उनले भनिन् । जानकार उद्योगीका अनुसार झोल वा डल्ला साबुन बनाउन प्रयोग हुने रंग पदार्थ पानीमा बगाउँदा पानी रातो, निलो, हरियो आदि रंगमा परिवर्तन गर्छ । यसले पानीको पीएच–स्तर अत्यधिक बढाएर क्षारीय बनाउने भएकाले पानीको प्राकृतिक अवस्था बिगार्छ ।
‘यस्तो रासायनिक प्रतिक्रिया हुँदा फलाम वा खनिज पदार्थसँग प्रतिक्रिया गरेर रातो रंग देखिन सक्छ । अक्सिजनको स्तर घटाउने भएकाले यसले खोलाका माछालाई असर गर्छ । मानव स्वास्थ्यका लागि पनि यस्तो पानी पिउन वा सिँचाइका लागि उपयुक्त हुँदैन,’ वातावरणविद् युवराज कँडेलले बताए ।
‘मानव स्वास्थ्यका हिसाबले निकै घातक हुन्छ,’ उनले भने, ‘तिनाउमा भएका माछालगायत जलचर संकटमा पर्न सक्छन् ।’ स्थानीय प्रशासनले यसलाई तत्काल पानी परीक्षण गर्नुपर्ने उनले बताए । कान्तिपुर





