गुल्मी —हँसिया र मुंग्रोले हानेर गुल्मीमा छोराले बुबाको हत्या गरेका छन् । मालिका गाउँपालिका-३ ह्वाङ्दी म्यालका २३ वर्षीय भोटबहाद बिकले बुबा ५२ वर्षीय धनबहादुर बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए ।
प्रहरीका अनुसार, आमा ४९ वर्षीया दिलमाया बिकलाई समेत घाइते बनाएका थिए । हँसिया र मुंग्राको प्रहारबाट बुबाको घटनास्थलमै मृत्यु भएको थियो । आमालाई उपचारका लागि गुल्मी अस्पताल हुँदै पाल्पा पठाइएकोमा हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यो घटना शनिबार साँझ घटेको थियो ।
बुबाको हत्या र आमालाई गम्भीर घाइते बनाउने छोरा भोटबहादुर बिक अहिले प्रहरी नियन्त्रणमा छन् । मानसिक अवस्था बिग्रेका कारण आफ्नै बुबाआमा माथि कुटपिट गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।जून घटनाबाट मृत्यु र गम्भीर घाइते हुने अवस्था आएको थियो ।
यद्यपि यस घटना सम्बन्धि थप अनुसन्धान भइरहेको छ । घटनास्थलमा प्रहरी चौकी अर्खबाङ्ग र जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली खटिएको छ । मृतकको शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।





