काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दुई महिनापछि संसद्मा उभिएर आफूमाथि लगाएका आरोपबारे दिएको जवाफबारे नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दैछ । उपप्रधानमन्त्री लामिछानेले संसद्मा स्पष्टीकरण दिने क्रममा नेपाली कांग्रेस र खासगरी महामन्त्री गगनकुमार थापामाथि कयौँ आरोप लगाएका छन् ।
उनले सञ्चारमाध्यममा आएजति सबै काण्डको छानबिन गर्ने हो भने महामन्त्री थापासहित कांग्रेसका अधिकांश नेता कोही चोखो नबच्ने उल्लेख गरेका थिए । रविले सम्बोधन गरेपछि सभामुख देवराज घिमिरले आइतबारको बैठकमा राखिएका कार्यसूचीका सबै विषय हटाएका थिए । ती सबै कार्यसूची हटाउँदै घिमिरेले सोमबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिसकेका छन् ।
लामिछानेले पार्टी र नेताहरूमाथि कयौँ आरोप लगाएपछि महामन्त्री गगन थापाले पार्टीको तर्फबाट अहिले साँझ पत्रकार सम्मेलन आयोजना गर्दैछन् । प्रतिनिधिसभा बैठकमा सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछाने बोलेसँगै उनले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । अहिले साढे ७ बजे संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन हुन लागेको उनको सचिवालयले जनाएको छ ।
आइतबारको बैठकको सबैभन्दा पहिले कांग्रेस सांसद रामहरि खतिवडाले बोल्ने प्रस्ताव गएको थियो । त्यसपछि उपप्रधानमन्त्री लामिछानेले बोल्ने र अन्तिममा कांग्रेस महामन्त्री गगन थापाले सम्बोधन गर्ने गरी प्रस्ताव गएको थियो । तर लामिछानेले लगाएका आरोपको जवाफ दिन नपाएपछि कांग्रेसले अलग्गै पत्रकार सम्मेलन गर्दैछ ।