काठमाडौं– इजलायलले गाजाको रफाह नजिकैको शरणार्थी शिविरमा आक्रमण गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शिविरमा भएको विस्फोटमा दर्जनौँ मानिस मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।घटनामा थुप्रै घाइते भएका छन् । मृत्यु हुनेमा महिला र बालबालिका धेरै रहेको बताइएको छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले उक्त क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्षित गरी हवाई हमला गरेको बताएको छ। घटनाको समीक्षा भइरहेको जनाइएको छ । अघिल्लो दिन हमासले रफाहबाट तेल अवीवतर्फ ८ वटा रकेट प्रहार गरेको थियो, जुन जनवरीयताको पहिलो लामो दूरीको आक्रमण हो।
दक्षिणी गाजा पट्टीबाट प्राप्त भिडियोहरूमा ठूलो विस्फोट र आगो लागेको देखिएको छ । विस्थापित प्यालेस्टाइनीहरू रहेको रफाहको उत्तर–पश्चिमस्थित शिविरमा इजरायले आक्रमण गरेको हमासले बताएको छ ।
संयुक्त राष्ट्रसंघले आक्रमण सुरु भएदेखि नै रफाहबाट ८ लाखभन्दा बढी प्यालेस्टाइनीहरू विस्थापित भएको जनाएको छ । गाजाको अन्य क्षेत्रबाट रफाहमा करिब १५ लाख मानिसले आश्रय लिएका थिए ।
गत अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले अकस्मात आक्रमण गर्दा करिब १२ सय इजरायली नागरिक मारिएका थिए । त्यसपछि इजरायलले गरेको जवाफी आक्रमणमा करिबब ३६ हजार म्यालेस्टिनी मारिएका छन् ।