काठमाडौं : आठौं प्रधानमन्त्री कप भलिबल लिगको उपाधि टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै टिप टप हेल्प नेपाल पुरुष तर्फको च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनलमा टिप टप हेल्प नेपालले गण्डकीलाई ३-१ को सेटमा पराजित गर्यो।
खेलमा पहिलो सेट हेल्प नेपालले २२-२५ ले आफ्नो पक्षमा पार्यो। दोस्रो सेट भने गण्डकीले २५-२० ले जित्यो। त्यसपछिको तेस्रो र चौथो सेट २०-२५ र २०-२५ ले जित्दै टिप टप हेल्प नेपाल च्याम्पियन बन्यो।
त्यस्तै प्रतियोगिताको महिलातर्फ एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले उपाधि कब्जा गर्यो। एभरेस्टलाई ३-२ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो। फाइनलको पहिलो सेट पुलिसले २५-२१ ले जित्यो। दोस्रो सेट पनि २५-२३ ले जित्दै पुलिस उपाधितर्फ लम्कियो।
तर, त्यसपछिको दुवै सेट एभरेस्टलाई २०-२५ र २०-२५ ले सुम्पदा खेल पाँचौं सेटमा लम्बियो। निर्णायक तथा पाँचौ सेट निकै रोमाञ्चक रहँदा पुलिसले १५-१२ ले बाजी मार्न सफल भयो। उपाधिसँगै विजेताले ८ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो हुने टिमले चार लाख प्राप्त गरेको छ।