जीबी राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा विश्वस्त छु : गृहमन्त्री



नागरिक अपडेट


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई नेपाल झिकाउन मलेसियाका गृहमन्त्रीसँग कुराकानी गरेर प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।

Advertisement

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले राज्यका निकायले गरेको अनुसन्धानबाट जीबी राई मलेसियामा रहेको तथ्य पत्ता लागेको भन्दै उनलाई नेपाल झिकाउने सन्दर्भमा मलेसियाका गृहमन्त्रीसँग दुई पटक कुराकानी गरिसकेको बताए । उनले कानुनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने भन्दै दुवै तर्फका राज्य संयन्त्र संवादमा रहेका बताए ।

Advertisement

गृहमन्त्री लामिछानेले संवादको क्रममा मलेसिया सरकार सकारात्मक देखिएको र माग गरे अनुरुपको कागजात नेपालबाट पठाइएको पनि जानकारी दिए । उनले जीबी राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

Advertisement

उनले आफूमाथि लागेको लाञ्छनाबाट मुक्ति पाउनका लागि पनि राईको पक्राउ आफ्नो लागि व्यग्र प्रतीक्षाको विषय बनेको बताए । उनले राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा विश्वस्त रहेको बताए ।

गृहमन्त्री लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो गिरिबन्धु टिस्टेटको उजुरी कुरेर बसेको बताए । उनले उजुरी आएपछि कुनैपनि बेला यस सम्बन्धमा अनुसन्धान गर्न प्रहरी तयार रहेको बताए ।

गृहमन्त्री लामिछानेले बजेट पास भएको दुई महिनाभित्र विगतमा भएका २५ वटा काण्डहरुको फाइल तयार गर्नको निमित्त एउटा शक्तिशाली आयोग बनाउने बताए । उनले पतञ्जलि आयुर्वेद कम्पनीको फाइल आजैबाट खुलेको पनि जानकारी दिए । उनले भुटानी शरणार्थीको बन्द भएको फाइल खुल्ने तयारीमा रहेको बताए ।

बालमन्दिर र स्काउटको फाइल बन्द नभएको पनि उनले बताए । उनले बाँसबारीको फाइल बन्द नभएको र टिकापुरको फाइल खुलाउन काम भइरहेको पनि बताए । गृहमन्त्री लामिछानेले वृहत् जनकपुरको ९ हजार बिघा जग्गाको फाइल पनि तयार हुने क्रममा रहेको बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया