काठमाडौँ । एलन मस्कको स्याटलाइट इन्टरनेट सेवा स्टारलिंकले भारतमा सञ्चालनको लागि अन्तिम स्वीकृति प्राप्त गरेको छ। भारतको अन्तरिक्ष क्षेत्र नियामक निकायले जुलाई ८ मा स्टारलिंकलाई भारतको आकाशमा स्याटलाइट इन्टरनेट सेवा दिन अनुमति दिएको हो।
यो स्वीकृति २०३० जुलाई ७ सम्मका लागि मान्य हुनेछ। सबै योजना अनुसार अघि बढ्यो भने, स्टारलिंक २०२५ को अन्त्य या २०२६ सुरुमा सेवा सुरु गर्ने लक्ष्यमा छ।
स्टारलिंकले उपग्रहमार्फत इन्टरनेट सेवा प्रदान गर्छ, जुन दुर्गम तथा ग्रामीण क्षेत्रमा विशेष लाभदायक हुने विश्वास गरिएको छ। यस प्रणालीले सिधै स्याटलाइटबाट प्रयोगकर्ताको घरमा राखिएको सानो डिशमार्फत इन्टरनेट सेवा पुर्याउँछ।
हालसम्म, स्टारलिंक विश्वका १०० भन्दा बढी देशहरूमा सञ्चालनमा छ र ६,००० भन्दा बढी उपग्रह प्रक्षेपण भइसकेको छ।





