गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले फागुन १ गते भव्य समारोहसहित उद्घाटन गरेको नयाँ प्रशासकीय भवन अझै प्रयोगमा आउन सकेको छैन । उद्घाटन भएको पाँच महिना बितिसक्दा समेत कार्यालय अझै पुरानै भवनबाट सञ्चालन भइरहेको छ । यसले गाउँपालिकाको योजना, प्राथमिकता र कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
भवनको उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हेलिकप्टरमार्फत ल्याएर विशेष कार्यक्रम गरिएको थियो । जनयुद्धसँग जोडिएको मिति फागुन १ लाई विशेष महत्व दिँदै गरिएको उद्घाटन कार्यक्रममा लाखौं रुपैयाँ खर्च गरिएको थियो ।
तर त्यसपछि भने सेवा प्रवाहमा देखिएको ढिलाइ र निष्क्रियताले स्थानीयबासीका लागि निराशाजनक सावित भएको छ । मालिका गाउँपालिकाका सूचना अधिकारी जगत पौडेलका अनुसार भवनको आन्तरिक संरचना निर्माण अन्तर्गत फर्निचर व्यवस्थापन र अन्य पूर्वाधारहरू अपूरा भएकाले कार्यालय स्थानान्तरण गर्न नसकिएको बताए ।
उनका अनुसार बाँकी काम सम्पन्न गर्न अझै केहि महिना लाग्ने अनुमान छ । यो अबधिमा सेवा प्रवाह भने यथावत् पुरानै भवनबाट सञ्चालन हुने बताइएको छ । पाँच महिनासम्म पनि सानातिना पूर्वाधार व्यवस्थापन नहुनु आलोचनाको विषय बन्न थालेको छ । मालिका गाउँपालिकाका पूर्व प्रवक्ता शोभाखर गिरीले उद्घाटनमा देखाइएको हतारो सस्तो लोकप्रियता कमाउने होडबाजी बताए ।
सेवा सुरु गर्ने पूर्वतयारी विना गरिएको उद्घाटनले विकासभन्दा प्रचारलाई प्राथमिकता दिएको स्पष्ट पारेको उनको भनाइ छ । भवन गुल्मीको मालिका गाउँपालिका–४, अर्खाबाङमा निर्माण गरिएको हो । संघीय सरकार र स्थानीय सरकारको सात करोड ६७ लाख १८ हजार लागतमा उक्त प्रशासनीक भवन निर्माण सम्पन्न भएको हो ।
विकोइ श्रेष्ठ तथा सुनिल समिर जेभीद्वारा २०७८ भदौमा सम्झौता भएको भवन निर्माणको काम तीन वर्षमा सम्पन्न भएको हो। जिल्ला सदरमुकामबाट टाढा दुर्गम क्षेत्रमा रहेको पालिकाको रूपमा चिनिले पालिकामा सुबिधा सम्पन्न भवनबाट सेवा प्रबाह हुने अपेक्षा नागरिकमा रहेको छ ।
भवनको संरचना अपाङ्गतामैत्री रहेको छ । २२ हजार स्क्वायर फिटमा बनेको सो भवन साढे तीन तलाको रहेको छ । भवनमा बैठक कक्ष र सभाहल सहित १६ वटा कोठाहरू रहेका छन् । गाउँपालिकाको मुख्य केन्द्रमा निर्माण गरिएको उक्त भवन आकर्षक डिजाईनमा निर्माण गरिएको छ ।