नयाँ दिल्ली । १२ जुनका दिन भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनामा मारिएका ब्रिटिश नागरिकका परिवारले आफूहरूलाई आफन्तको भनेर अर्कैको शव दिइएको दाबी गरेका छन् ।
ब्रिटिश मिडिया ‘डेली मेल’लाई उद्धृत गर्दै भारतीय मिडिया ‘टाइम्स अफ इन्डिया’ले जनाएअनुुसार अहिलेसम्म यस्ता दुईवटा घटना प्रकाशमा आएका छन् । पीडित परिवारले आफन्तको शवलाई भारतबाट ब्रिटेन पठाउनु अघि गलत पहिचान गरिएको आरोप लगाएका हुन् ।
बेलायतमा गरिएको डीएनए परीक्षणका क्रममा आफन्तले आफूलाई गलत शव दिइएको पत्ता लागेको बताइएको छ । भारतले यसबारे औपचारिक प्रतिक्रिया दिँदै यस घटनासँग सम्बन्धित कुनै पनि चिन्ता समाधान गर्न ब्रिटेनका अधिकारीहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले यसबारेको रिपोर्ट हेरेका छौँ । हामी ब्रिटेनसँग मिलेर काम गरिरहेका छौँ ।’ उनले सम्बन्धित अधिकारीद्वारा स्थापित प्रोटोकल र प्राविधिक आवश्यता अनुसार पीडितको पहिचान गरिएको पनि खुलाएका छन् ।
अहमदाबादबाट लन्डनका लागि उडेको केहीबेरमै एयर इन्डियाको विमान १२ जुुनका दिन दुर्घटना भएको थियो । विमानमा सवार २४१ मध्ये २४१ जनाको दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटना भएको क्षेत्रमा रहेका अन्य १९ जना पनि मारिएका थिए ।