काठमाडौँ । रुसले युक्रेनको राजधानी किभमा बिहीबार हानेको मिसाइल र ड्रोन हमलामा परेर ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना नाबालिका समेत रहेको बताइएको छ ।
यस घटनामा अरू ५२ जना भन्दा धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् । घाइतेहरूको सङ्ख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । मिसाइल लागेर किभमा ९ तले भवनको ठुलो हिस्सा खसेको किभका सैन्य प्रशासन प्रमुख तैमूर त्काचेंकोले भनेका छन् ।
भग्नावशेषभित्र कयौँ मान्छे पुरिएका अनि राहत र उद्धारको काम भइरहेको बताइएको छ । यस आक्रमणप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुःख व्यक्त गरेका छन् ।
यस आक्रमणमा रुसले किभको २७ वटा क्षेत्रलाई निशाना बनाएको त्काचेंकोले बताए । सबैभन्दा धेरै क्षति सोलोमिंसकी र स्वीयातोशिन्सकी जिल्लामा भएको बताइएको छ ।