काठमाडौँ । चीनकाे बेइजिङमा गत हप्ता आएको भारी वर्षा र बाढीका कारण ४४ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता छन् । स्थानीय अधिकारीहरूले बिहीबार यो जानकारी दिएका हुन् । बेइजिङमा विगत चार दिनदेखि राहत र उद्धार कार्य जारी छ ।
वर्षाका कारण सडकहरू क्षतिग्रस्त छ, विद्युत आपूर्ति अवरुद्ध छ भने हजारौँ मानिसहरू आफ्नो घर खाली गर्न बाध्य भएका छन् ।चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार बेइजिङको उत्तरी पहाडी क्षेत्र मियुन र याङ्किङ जिल्लामा यी मृत्यु भएको हो । शनिबारदेखि यहाँ भारी वर्षा सुरु भएको छ ।
यसअघि सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङले वर्षा र पहिरोबाट प्रभावित क्षेत्रका मानिसहरूको जीवन र सम्पत्तिको रक्षा गर्न हरसम्भव प्रयास गर्न आदेश दिएका थिए । बेइजिङमा मात्र ८० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा पठाइएको छ ।
वर्षाका कारण ३१ वटा सडक मार्गहरू क्षतिग्रस्त भएका छन् भने १३६ गाउँहरूमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । चीनको अर्थ मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले मंगलबार बेइजिङसहित नौ प्रान्तीय क्षेत्रहरूलाई राहत कार्यका लागि ३५ करोड युआन (लगभग ४ करोड ९० लाख अमेरिकी डलर) दिएको थियो ।
सोही दिन, राष्ट्रिय विकास तथा सुधार आयोगले बेइजिङमा राहत कार्यका लागि थप २० करोड युआन (लगभग २ करोड ८० लाख अमेरिकी डलर) घोषणा गरेको छ ।