जङ्गली जनावरको आतङ्कले खेतबारीमै बास



रासस


बैतडी । जङ्गली जनावरले मकै बालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरूको बास खेतबारीमै हुन थालेको छ । बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन् ।

Advertisement

जिल्लाका १० वटै स्थानीय तहमा जङ्गली बँदेलले मकै बालीमा क्षति पुर्‍याउने गरेको छ । दोगडाकेदार गाउँपालिकामा जङ्गली बँदेलले मकै बाली नष्ट गरेर हैरान बनाएको स्थानीय चन्द्रसिंह विष्टले बताए । मकै बाली जोगाउन रातदिन बारीमै बास बस्दै आएको उनको भनाइ छ ।

Advertisement

उनले भने, “रातदिन जाग्राम बस्दासमेत मकै बाली जोगाउन मुस्किल भएको छ । खेतबारीमा टहरा बनाएर पहरा दिँदा मकै बाली जोगाउन सकिएको छैन ।” भर्खरै घोगा लाग्न लागेको मकै बाली बँदेलले नष्ट गर्न थालेपछि किसानहरूमा भोकमरी हुने चिन्ता छाएको पुर्चौडी नगरपालिकाका पुरनसिंह ऐरले बताए ।

Advertisement

बैतडी मकै उत्पादन हुने जिल्ला भएकाले यहाँको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सूर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालनमा छ ।

ती स्थानीय तहमा किसानलाई मकै बाली जोगाउन धौ–धौ परेको मकै जोन कार्यालयकी नायब प्राविधिक सहायक भावना भट्टले बताइन् । हरेक वर्ष मकै बालीमा जङ्गली जनावरले क्षति पुर्‍याउने गरेको पञ्चेश्वर गाउँपालिका–०४ का किसान रामदत्त भट्टले बताए ।

उनले भने, “मकै जोगाउन खेतमा टहरा बनाएर बस्दा जङ्गली बँदेलले मकै बाली नष्ट गर्ने गरेको छ । रातभरि जाग्राम बस्दासमेत मकै बाली जोगाउन धौ–धौ परेको छ । हरेक वर्ष मकै बाली जोगाउन दुई महिना अनिदो बस्नुपर्छ ।”

बैतडीमा १२ हजार एक सय हेक्टरमा मकै खेती गरिन्छ । जङ्गली जनावरकै कारण मकै खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । कतिपयले खेत बाँझै राखेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया