गुल्मी । कालिका युवा क्लबको आयोजनामा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १४ मा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा कालिका युवा क्लब रेसुङ्गा नगरपालिका १४ को आयोजना र विभिन्न व्यक्ती र संघसंस्थाको सहयोगमा त्रिभुवन माध्यमिक विद्यालयमा चेतनामुलक बृहत खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न गरिएको हो ।
रेसुङ्गा नगरपालिका १४ रातामाटा स्थित कालिका युवा क्लबका अध्यक्ष दुर्गाप्रसाद गौतमको अध्यक्षतामा भएको प्रतियोगितामा रेसुङ्गा नगरपालिकाका नगर उप-प्रमुख अमृता देवि कुँवरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रेसुंगा नगरपालिका १४ का वडा अध्यक्ष धन बहादुर पुन बिशेष अथितिको रुपमा रहेको कार्यक्रममा, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल सुधार संस्थाका प्रतिनिधि लगायत वडाबासीहरुको उपस्थिति रहेको थियो ।
तीज गीत प्रतियोगितामा क्लबका वरिष्ठ उपाध्यक्ष सेर बहादुर मल्लले कार्यक्रममा सहभागी हुन आउनु भएका सम्पुर्ण प्रतियोगीहरुलाई स्वागत गर्नुका साथै जहिले पनि आफ्नो क्लबले समाजमा सकरात्मक संन्देश दिँदै आएको र अबको दिनमा पनि यस्तै राम्रा कार्यक्रम गर्दै जानुका साथै क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत हिन्दु संस्कृतिको संरक्षण र संवर्द्धन गरी महिलाहरूलाई थप जागरण गर्ने उद्देश्य रहेको उल्लेख गर्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।
यस्तै कार्यक्रममा रेसुङ्गा नगरपालिका १४ जनप्रतिनिधि महिला वडा सदस्य सरिता पन्थीले यस कालिका युवा क्लवको कार्यक्रमबाट महिलाहरूलाई पछिल्ला वर्षमा तीज गीतमा परम्परागत मौलिकता संस्कृति हराउँदै जान थालेपछि संस्कृतिको संरक्षण, संवर्द्धन गर्ने र परम्परागत संस्कृति जनचेतना जगाउन सके मात्रै कार्यक्रमले सार्थकता पाउने भन्दै शुभकामना मन्तव्य दिनुभएको थियो ।
प्रतियोगिताको उदघाटन गर्दै रेसुङ्गा नगरपालिकाका नगर उप-प्रमुख अमृता देवि कुँवरले मौलिक तिज गीतको संरक्षण गर्दै नेपाली कला, धर्म र संस्कृतिको संरक्षण गर्नुपर्ने भन्दै शुभकामना मन्तव्य दिनुभयो । हराउँदै गएको सस्कृतिलाइ सम्बर्द्धन र प्रबर्द्धन गर्ने र कला सस्कृती नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । पछिल्लो समयमा तीजका नाममा भएका विकृति,तीज गीतका नाममा छाडा गीत,रत्यौली लगायतका संस्कृतिभन्दा बाहिरको विषय हावी भएको भन्दै निरुत्साहित गर्ने अभियान नै महिलाहरुले सुरु गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतियोगितामा सहभागी समूहहरूले आफूले पाएको शीर्षक अनुसार गीत तथा नृत्य प्रस्तुत गरेका थिए। सहभागी समूहहरूले महिला हिँसा बिरुद्ध सचेतना, विदेश जाने प्रवृती रहेको र स्वदेशमै मिहेनत गर्न सुझाब,सामाजिक संजालका कारणले घरमा हुने घरझगडा र त्यस बाट हुनसक्ने दुर्घटना, लागुपदार्थ दुर्व्यसनी न्यूनीकरणमा सरोकारवालाको भुमिका, स्वास्थ्य र जीवनशैली जस्ता बिषयमा एकदम राम्रो प्रस्तुति रहेको निर्णायक मण्डलका संयोजक खुम खत्रीले बताउनुभयो।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सहभागी हुने प्रतियोगिहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट नृत्यतर्फ बिशेष पुरस्कारको पनि व्यवस्था रहेको थियो । त्यस्तै कार्यक्रममा विभिन्न क्षेत्रमा योग्दान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान गुल्मीका पुर्व अध्यक्ष खुम खत्रीको संयोजकत्वमा लोक तथा दोहोरी गायक हरि खत्री र हिमाल कुवर सदस्य रहेको ३ सदस्यीय निर्णायक मण्डलले निर्णायकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो।
सात टिमको सहभागीता रहेकोमा प्रतियोगितामा रेसुंगा नगरपालिका वडा नं १४ साबिक वडा नं ६ मा रहेको जागरण महिला समूह भएको छ प्रथम, गुल्मी दरवार गाउपालिका १ रैनादी आमा समूह द्धितिय, रेसुंगा नगरपालिका वडा नं १४ साबिक वडा नं ९ मा रहेको रेसुङ्गा महिला समूह तृतिय र प्रतियोगितामा सहभागी भूमिकास्थान महिला समूह,श्री त्रिभुवन मा वि,पराल्मी सहकारी महिला समूह र उजेलादेवि स्वास्थ्य आमा समूहलाई नगद रु एक हजार र सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट नृत्यको बिशेष पुरस्कार नविना घर्तीले हासिल गर्नुभएको थियो ।
कार्यक्रममा रेसुङ्गा नगरपालिका १४ का वडा अध्यक्ष तथा कार्यक्रमका विशेष अथिति धन ब पुनले शुभकामना मन्तव्य राख्नुभएको थियो। पुनले हराउदै गएको कला संस्कृति,खेलकुदहरुको जगेर्ना गर्नको लागि क्लबले उल्लेख कार्य गरेको भन्दै क्लबको प्रशंसा गर्नुभएको थियो।
क्लबका अध्यक्ष दुर्गाप्रसाद गौतमले कार्यक्रम सफल बनाउनको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने,आर्थिक सहयोग गर्ने,बिदेशमा रहेर पनि कार्यक्रम सफल बनाउनका लागि महत्त्वपूर्ण सहयोग गर्ने सहयोगीहरुलाइ लगायत सबैलाई धन्यवाद दिदै मौलिक तिज गीतको संरक्षण गर्दै नेपाली कला, धर्म र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो । प्रतियोगितामा क्लबका वरिष्ठ उपाध्यक्ष सेर बहादुर मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन क्लबका महासचिव लिला ज्ञवालीले गर्नुभएको थियो ।
आजका कार्यक्रमका केहि तस्बिरहरु