केशव खड्का,जापान । गुल्मीको मुसिकोट नगरपालिका–२ देउरालीमा रहेको श्री तुफान परिकल्पना युवा क्लबले यस वर्ष पनि हरितालिका तीज पर्वको अवसर पारेर भव्य खुल्ला तीज गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको छ ।
पञ्चमीको भोलिपल्ट अर्थात् भाद्र १३ गते बिहान ११ बजेबाट देउराली खेलमैदानमा हुने कार्यक्रममा स्थानिय समुदायसँगै आसपास क्षेत्रका कलाकार र सहभागीहरूले आफ्नो प्रतिभा देखाउने अवसर पाउनेछन् । आयोजक क्लबका अनुसार, प्रतियोगिताको उद्देश्य तीज संस्कृतिको संरक्षण, मौलिक भेषभूषाको प्रचारप्रसार र युवा पुस्तालाई संस्कृतिप्रति आकर्षित गर्नु रहेको छ ।
यस वर्षको कार्यक्रममा कलाकार कमल बराल, उज्ज्वल गिरी र पूजा मगर विशेष आकर्षणका रूपमा रहने छन् । उनीहरूको प्रस्तुतीले दर्शकलाई अझ रमाइलो माहोल दिने आयोजकहरूको अपेक्षा छ । युवा क्लबले विगतका वर्षहरूमा निरन्तर तीज विशेष कार्यक्रम गर्दै आएको छ ।
जसले स्थानीय स्तरमा मात्र नभई जिल्लाभर सांस्कृतिक जागरण ल्याउन मद्दत पुर्याएको छ । क्लबले यसपटक पनि सबै क्षेत्रका व्यक्तिहरूलाई उपस्थित भई सहयोग र सहभागिता जनाउन सादर अनुरोध गरेको छ । यस कार्यक्रमले स्थानीय प्रतिभा उजागर गर्ने मात्र होइन। सांस्कृतिक एकता र सामाजिक सद्भावलाई मजबुत बनाउन टेवा पुग्ने विश्वास गरिएको छ ।