केशव खड्का, जापान । जन्मघर गुल्मी मुसिकोट भई हाल रुपन्देहीको बुटवलमा बस्दै आएकी बिमला खत्रीले आफ्नो जन्मदिन सामाजिक सेवासँग जोड्दै प्रेरणादायी उदाहरण प्रस्तुत गर्नुभएको छ। जन्मदिनको अवसरमा अनावश्यक तडकभडक र फजुल खर्च नगरी उहाँले रुपन्देहीस्थित मानवसेवा आश्रममा आश्रित बिर्दा आमा–बुबाहरूका लागि भोजनको व्यवस्था गर्नुभएको हो।
खत्रीले जन्मदिन व्यक्तिगत उत्सवमा सीमित नराखी समाजका ज्येष्ठ नागरिकहरूसँग खुशी साट्ने उद्देश्यले आश्रममै पुगेर खाना वितरण गर्नुका साथै केही समय उनीहरूसँग बिताउनुभएको थियो। आश्रममा रहेका वृद्धवृद्धाले उहाँको पहलप्रति खुशी व्यक्त गर्दै आशीर्वाद दिएका थिए। उपस्थित व्यक्तिहरूका अनुसार यस कार्यले आश्रममा बसोबास गरिरहेका ज्येष्ठ नागरिकहरूमा अपनत्व र सम्मानको अनुभूति गराएको थियो।
मानवसेवा आश्रमका प्रतिनिधिहरूले खत्रीको सहयोगप्रति आभार व्यक्त गर्दै जन्मदिन जस्ता व्यक्तिगत अवसरलाई सामाजिक सेवासँग जोड्नु समाजका लागि सकारात्मक सन्देश भएको बताएका छन्। उनीहरूले यस्ता सेवामूलक गतिविधिले सहयोग, करुणा र मानवीय भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरे।
स्थानीय बासिन्दाले समेत खत्रीको कार्यलाई अनुकरणीय भन्दै प्रशंसा गरेका छन्। पछिल्लो समय जन्मदिनमा देखावटी खर्च बढ्दै गएको सन्दर्भमा यस्तो उदाहरणले सामाजिक चेतना फैलाउने अपेक्षा गरिएको छ। जन्मदिनलाई केवल उत्सवको रूपमा नभई सेवा र सद्भावको अवसरका रूपमा मनाउने संस्कारले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास गरिएको छ।
बिमला खत्रीको यस मानवीय कदमले अरूलाई पनि प्रेरणा मिलोस् भन्ने अपेक्षा गरिएको छ। सामाजिक उत्तरदायित्वप्रति सचेत नागरिकका यस्ता कार्यले मानवताको मूल्यलाई अझ उजागर गर्ने विश्वास गरिएको छ।





