केशव खड्का, जापान । रुपन्देही जिल्लाले लुम्बिनी प्रदेश स्तरीय दोस्रो मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ। दाङमा सम्पन्न फाइनल प्रतिस्पर्धामा पाल्पालाई सोझो ३–० सेटमा पराजित गर्दै रुपन्देहीले उत्कृष्ट प्रदर्शनसहित उपाधि जित्न सफल भएको हो।
शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा रुपन्देहीले सुरुदेखि नै खेलमा पकड कायम राख्दै पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट ३०–२८ ले जित्दै पाल्पामाथि स्पष्ट दबाब बनाएको थियो। विशेषगरी तेस्रो सेटमा पाल्पाले कडा चुनौती प्रस्तुत गरे पनि निर्णायक क्षणमा रुपन्देहीले संयमित खेल प्रदर्शन गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो।
उपाधिसँगै रुपन्देहीले नगद १ लाख रुपैयाँ, ट्रफी तथा मेडल प्राप्त गरेको छ भने उपविजेता पाल्पाले नगद ६५ हजार रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाएको छ। प्रतियोगिताभर उत्कृष्ट समन्वय, सशक्त आक्रमण र बलियो डिफेन्सका कारण रुपन्देही टिम उपाधिको प्रमुख दाबेदारका रूपमा स्थापित भएको थियो।
प्रदेशका १२ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा रुकुम पूर्व ले तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा रुकुम पूर्वले बर्दियालाई ३–१ सेटले पराजित गर्दै कांस्य स्थान सुरक्षित गरेको हो। पहिलो सेट गुमाएको रुकुम पूर्वले त्यसपछि लगातार तीन सेट जित्दै शानदार पुनरागमन गरेको थियो।
तेस्रो स्थान हासिल गरेको रुकुम पूर्वले नगद ३५ हजार रुपैयाँ प्राप्त गरेको छ भने सान्त्वना स्थानमा सीमित बर्दियाले १५ हजार रुपैयाँसहित प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ। लुम्बिनी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताले प्रदेशका जिल्लाबीच खेलकुद प्रतिस्पर्धा, प्रतिभा पहिचान र महिला खेलाडीहरूको मनोबल अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।





