गुल्मीको सरगम सञ्जाल युवा क्लबको १५औँ वार्षिकोत्सव सम्पन्न



नागरिक संवाददाता


विष्णु राउत, गुल्मी । गुल्मीको मदाने गाउँपालिका–१, अग्लुङ निपानेमा स्थापित सरगम सञ्जाल युवा क्लबको १५औँ वार्षिकोत्सव विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित आज सम्पन्न भएको छ ।

Advertisement

चैत २९ गतेदेखि सुरु भई नयाँ वर्ष २०८३ वैशाख १ गतेसम्म सञ्चालन भएको कार्यक्रम क्लबका अध्यक्ष अनिल खत्रीले जानकारी दिनुभयो । “अनेकतामा एकता सरगमको शान, नेपाली कला संस्कृतिको जगेर्ना हाम्रो अभियान” भन्ने मूल नाराका साथ अघि बढेको क्लबले आफ्नो १५औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको जनाएको छ ।

Advertisement

१५ वर्षअघि स्थापना भएको यस क्लबले हरेक वर्ष आफ्नै खेलमैदान तथा स्टेजमा वार्षिकोत्सव आयोजना गर्दै आएको छ । यस वर्षको कार्यक्रममा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा खुला लोकनृत्य प्रतियोगिता आयोजना गरिएको थियो । साथै, राष्ट्रियस्तरका कलाकार उज्ज्वल गिरी (दानवीर), विशाल कुँवर, हेमराज कुँवर तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहेको थियो ।

Advertisement

भलिबल प्रतियोगितामा कुल १७ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको अन्तिम चरणमा तीन टिमले प्रतिस्पर्धा गरेका थिए । उपाधि मदाने भलिबल क्लबले जितेको छ भने लेखपोखरा तपोभूमि दोस्रो र उज्यालो सामुदायिक विकास मञ्च तेस्रो स्थानमा रहेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. २५,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय हुनेले नगद रु. १८,००० तथा तृतीय हुनेले नगद रु. १२,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी, खुला लोकनृत्य प्रतियोगितामा रमिला सुनारको टिम प्रथम, टिम सिम्रिक द्वितीय र सरगम सञ्जाल युवा क्लब तृतीय भएका छन् । उनीहरूले क्रमशः नगद रु. ५,०००, रु. ४,००० र रु. ३,००० सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

वार्षिकोत्सव कार्यक्रमको उद्घाटन मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवर र उपाध्यक्ष सरिता खड्काले गर्नुभएको थियो भने समापन क्लबका अध्यक्ष अनिल खत्रीले गर्नुभएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया