काठमाडौं : अमेरीका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा भाग लिएको नेपाली टिमका ब्याटर आसिफ शेखले शतक हानेमा वीरगन्ज महानगरपालिकाले उनलाई १ लाख रुपैयाँसहित सम्मानित गर्ने भएको छ। वीरगन्ज महानगरपालिका– १२ मूर्ली निवासी आसिफ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर र ब्याट्सम्यान हुन्।
सोमबार वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले सामाजिक सञ्जालमा पोस्ट गर्दै जारी टी–२० विश्वकपमा नेपालको राष्ट्रिय टोलीका सदस्य वीरगन्ज निवासी आसिफलाई शतक हानेमा १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा मेयर सिंहले लेखेका छन्, ‘विश्वकपमा सहभागी वीरगन्जका छोरा आसिफ शेखको सम्मान र हौसला वृद्धिका लागि वीरगन्ज महानगरको तर्फबाट प्रत्येक खेलमा ३० रन जोड्दा ३० हजार रुपैयाँ, ५० रन जोड्दा ५१ हजार रुपैयाँ र १ सय रन जोड्दा १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्दछु।’ मेयर सिंहले वीरगन्जका शानका रूपमा नेपाली राष्ट्रिय टोलीमा समावेश आसिफको विश्वकपमा मनोबल बढाउन आफूले यस्तो घोषणा गरेको बताएका छन्।
यसअघि २०७९ साल चैतमा काठमाडौंमा सम्पन्न आईसीसी विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका आसिफ र उनका सहोदर भाइ आरिफ शेखलाई वीरगन्ज महानगरले नै नागरिक अभिनन्दनसंगै एक/एक थान यमहा एफजेडएफआई मोटरसाइकल प्रदान गर्दै सम्मानित गरेको थियो। २ चैत २०७९ मा काठमाडौंमा भएको आईसीसी विश्वकप लिग २ को निर्णायक खेलमा शेख दाजुभाइले उत्कृष्ट प्रदर्शन गरेकै कारण नेपाल आईसीसी विश्वकप क्वालिफायरमा छनौट हुन सफल भएको थियो।
जारी टी–२० विश्पकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। उक्त समूहमा नेपालसंगै नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन्। विश्वकपमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध ४ जुन अर्थात् जेठ २२ गते खेल्दै छ।