गुल्मीको इस्मामा जिल्लाकै ठूलो र नमुना क्रीकेट मैदान बन्दै



नागरिक अपडेट


प्रेम सुनार,गुल्मी: गुल्मीको इस्मा गाउँपालिकाले बाह्य र आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यका साथ जिल्लामै सबैभन्दा विशाल र आकर्षक क्रिकेट मैदान निर्माण गर्न लागेको छ। त्यस पालिकाको वडा नम्बर १ र २ को बीचमा रहको छल्दीखोलाको तिरमा बहुउद्देश्यीय क्रिकेट मैदान निर्माण गर्न लागेको हो। जसलाई बीपी स्मृति क्रिकेट मैदान नाम दिइएको छ।

Advertisement

मदन भण्डारी राजमार्गबाट हेर्दा अत्यन्तै आकर्षक उक्त क्रिकेट मैदानसँगै स्वीमिङ्ग पूल, पिकनिक स्पट, मन्दिर र १०८ वटा पिपलको बोट रोपण गरी आकर्षणको केन्द्र बनाई मदन भण्डारी राजमार्ग हुँदै प्यूठानको स्वर्गद्वारी र मुक्तिनाथ दर्शनमा जाने पर्यटकहरुलाई आकर्षित गर्ने लक्ष्य लिइएको त्यस गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिए।

Advertisement

उनका अनुसार अहिलेसम्म गाउँपालिकाको तर्फबाट एक करोड खर्चेर २०० मिटर लम्बाइ र करिव १३० मिटर चौडाइ मैदान सम्माउने, ग्याविङ्ग वालमार्फत् खोलाको तटबन्ध निर्माणको काम सकिएको छ । त्यसको कुल लम्बाइ २५० मिटर हुने छ । चालु आर्थिक वर्षका लागि एक करोड छुट्टाइएको छ । कुल १७ करोड लागतको उक्त क्रिकेट मैदान तीन वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष खड्का बताउँछन् ।

Advertisement

अध्यक्ष खड्काले यसै वर्षयाममा दुबो रोपण गरिने, फूलहरुले सौन्दर्यकरण गर्ने, रिर्सोटलगायतको सुविधा उपलब्ध गराउन निजी क्षेत्रलाई आव्हान गर्ने, निकै शान्त, एकान्त र मनोरम रिभरसाइडका रुपमा विकास गर्ने, क्रमशः अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिने जसले सहजै बाह्य र आन्तरिक पर्यटकहरु भित्रिने खड्काको भनाइ छ । सदरमुकामबाट नजिक पर्ने त्यस भेगमा तीज, दसैं तिहार लगायतका चाड पर्वमा मेलाहरु लाग्ने गर्छन् ।

कसरी पालिकाको त्यस कार्यमा ध्यान पुग्यो भन्ने प्रश्नमा अध्यक्ष खडका भन्छन्–‘हामीले सार्वजनिक जमिन अतिक्रमण गर्ने अभियान चलाउँदै आएका छौँ । त्यस छल्दीखोला किनारका सार्वजनिक जमिन विभिन्न व्यक्तिहरुले अतिक्रमण गरेको अमिन ल्याएर नपाउँदा पत्ता लाग्यो।

त्यसपछि हामीले ती व्यक्तीहरुसँग फिर्ता गराई कुल ८१.८८ रोपनी क्षेत्रफलमा क्रिकेट मैदानसहित बुहउद्देश्यीय पार्कलगायतका आकर्षक संरचनाहरु निर्माण गर्न लागेका हौं ।’ उनले थपे–‘म आफू पनि क्रिकेट खेलाडी हुँ, म सहित पछिल्लो पुस्ता क्रिकेट खेलाडी र खेल प्रेमीहरुको ट्रेन बढ्दो छ ।

जिल्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल मैदान छैन । त्यसैले सिंङ्गो जिल्लाका लागि नमूना क्रिकेट मैदान बनाउँदैछौँ।’उता राङ्गदालमा पनि सांसद तथा तथा पूर्वमन्त्री गोकर्ण विष्टको पहलमा शहीद लखन थापा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणको पहिलो चरण सकिएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया