न्यून चापीय रेखा नेपाल नजिक, आइतबारसम्म मनसुन थप सक्रिय हुने



नागरिक अपडेट


काठमाडौं । आज शुक्रबारदेखि आइतबारसम्म मनसुनी वर्षा थप सक्रिय हुने जल तथा मौसम विजान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट नेपाल नजिक सरेकाले देशभर नै यसको प्रभाव देखिने छ ।

Advertisement

मनसुनी वायुको प्रभावले असार १४ गतेदेखि असार १६ गतेसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

साथै गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

त्यसैले महाशाखाले विशेष बुलेटिन जारी गर्दै शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा, बाढी–पहिरो र डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन भनेको छ । त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाको प्रक्षेपण छ ।

नेपालमा गत जेठ २८ गते मनसुन भित्रिएको थियो । त्यसयता बाढी र पहिरोमा परी २८ जनाको मृत्यु भइसकेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया