गुल्मी: नेपाली गरिब बोरोजगार युवाहरुको विदेशिनु पर्ने विवशताको अर्को उदाहरण एक पिडादायी घटना घटेको छ हालै गुल्मीमा। जिल्लाको रेसुङ्गा नगरपालिका-१२ का २६ बर्षीय युवा अनिल विक वैदेशिक रोजगारका लागि दुवई पुगेको तीन महिना नपुग्दै यहि साउन १० गते सडक दुर्घटनामा परी ज्यान गएको छ। त्यस वडाको उर्लेनी लामिचौर टोलका विकले धुर्कोट गाउँपालिका-२, जुुम्लादी गाउँकी २४ बर्षीया सरस्वता विक संग अघिल्लो बर्षको असार महिनामा प्रेम विवाह गरेका थिए।
विक विवाहको ९ महिना पछि गत बैशाख २२ गते विदेश उड्नका लागि घरबाट हिँडेका थिए। सुकुम्वासी परिवारका विक चरम गरिबीबाट आक्रान्त हुँदै धन कमाएर सुखी जीवन जिउने सपना श्रीमति संग बाँड्दै विदेश उडेका थिए। विदेश पुगेर पनि उनले फोनमा श्रीमतिलाई अब चिन्ता गर्ने दिन गए जस्ता शब्दले हर्षित पार्दै आएको परिवारजन बताउँछन।
विकको निकै कहालीलाग्तो बाल्यकाल रहेको छ। उनी जन्मेको पाँच महिना पछि बाबुको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको थियो। त्यसको दुई/तीन बर्ष पछि आमाको पनि मृत्यु भए पछि उनी टुहरो बेसहारा भएर बिचल्लीमा परेका थिए। पाँच भाई मध्ये अनिल कान्छा थिए। घरमा एक्लै परेका अनिललाई उनका जेठा दाजु यमबहादुर विक र भाउजुले हुर्काएका थिए।
गाउँको निमेक मजदुरी गर्दै हुर्केका अनिल पछि ट्रयाक्टर चालक बनेका थिए। विवाह पछि ऋण काढेर भए पनि विदेश जाने योजना बनाएका उनको मृत्युको खबर सुनेपछि गत ६ दिन देखि श्रीमति सरस्वता अर्धचेत भएर लडेकी छन। धेरैबेर सम्म अचेत हुन्छिन। यसो होस आउदा श्रीमानलाई पुकार्दै भक्कानो छाड्छिन।
विवाहको एक बर्ष नपुग्दै सिन्दुर पुछिनु परेको यस घटनाबाट गाउँवासीहरुले पनि आँशु थाम्न सकेका छैनन। विवाह गरेको असार महिनामा ठिक एक बर्ष पुग्छ। एक बर्ष अघिको असार महिनाको विवाह सम्बन्धको तस्वीर संगै भए पनि अब सरस्वताको भौतिक शरीरको जोडी टुटेको छ।
हरबखत श्रीमान पुकारेर रोएको दृश्यले हामीले समेत आँशु थाम्न सकेनौँ। दलानमा लडेकी सरस्वताको बिलौनाले आँशु थाम्न नसकेर हामीले उनका दाजु यमबहादुर विक र भाउजुलाई घर देखि माथि लगेर कुराकानी गर्दा भक्कानिदै भने, ‘यति दुःख गरेको होईन, सानैमा बाबु आमा गुमाए पछि हामीले हुर्काएका हौँ। विदेश पुगेर के-के न गर्छ भन्ने सपना बोकेको भाईको यस्तो खबर आउँदा भावविह्वल भएका छौँ।’
यस दुखद घटनाको झण्डै एक हप्ता पुग्दा पनि रेसुङ्गा नगरपालिकाका कुनै पनि जनप्रतिनिधी त्यस परिवारलाई सहानुभुती दिन समेत नपुग्नु दुखद पक्ष बनेको छ। अनिलको शव विदेशबाट झिकाउनका लागि यहाँका जनप्रतिनिधीहरुले पहल गरी दिन परिवारको आग्रह छ।
तल उर्लेनी बजार देखि उनिहरुको गाउँ सम्म पुग्ने मोटरबाटो त परै जाओस् पैदल बाटाको अवस्था समेत बेहाल छ। चिप्लो लेउ लागेको गोरेटो सडकमा कुन दिन अनिलका बाबु झैँ लडेर ज्यान हाल्ने हुन भन्ने महसुस हुन्छ। उर्लेनी आसपासको दलित वस्ती यस नगरपालिकाको विकट कर्णाली बन्दै आएको छ।
सदरमुकाम नजिकैको दलित वस्ती बर्षौँ देखि बत्तिमुनीको अँध्यारो बन्दै आउँदा पनि नगरपालिकाको ध्यान पुग्न सकेको छैन। मृतक अनिल विकका परिवारजन झैँ थुप्रै दलितहरु कोही सुकुम्वासी त कोही तीन महिना खाना नपुग्ने जमिन भएकाहरु छन।
उनिहरुलाई हरेक चुनावमा चामल लगायतका खाद्यान्न र पेय पदार्थ बाँड्ने र आश्वासनको बिस्कुन सुकाई दिने गरिन्छ तर चुनाव जिते पछि उनीहरुको जीवन स्तर माथि उठाउन कुनै प्रयास गरिदैन भनेर उनिहरु बताउँदै आएका छन।