गुल्मी — रेसुंगा विमानस्थलबाट साप्ताहिक चार उडान हुने भएको छ । यसअघि साप्ताहिक तीन उडान भएकामा अबदेखि साप्ताहिक चार उडान हुने भएको हो । रेसुंगा विमानस्थलमा पछिल्लो तालिकाअनुसार साप्ताहिक रूपमा आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुने रेसुंगा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाले बताए ।
गुल्मी-काठमाडौं हवाई भाडा तीन हजार रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । हवाई इन्धनको मूल्यवृद्धिसँगै भाडादर नयाँ कायम भएको हो । नयाँ भाडादरअनुसार गुल्मी–काठमाडौं १० हजार ७ सय रुपैयाँ र काठमाडौं–गुल्मी १० हजार ९ सय रुपैयाँ कायम भएको रेसुंगा विमानस्थल गुल्मीका स्टेसन प्रमुख थापाले बताए ।
यसअघि गुल्मी-काठमाडौं ७ हजार ३ सय रुपैयाँ र काठमाडौं-गुल्मी ७ हजार ५ सय रुपैयाँ रहेको थियो ।रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले उडान भर्दै आएको छ । स्टेसन प्रमुख थापाका अनुसार काठमाडौंदेखि बिहान साढे ६ बजे र रेसुङ्गादेखि बिहान साढे ७ बजे उडान भर्ने गरेको छ ।
पहाडी जिल्ला हवाई सेवासँग जोडिएपछि पर्यटकको संख्यामा केही हदसम्म भए पनि वृद्धि र यात्रुको चाप अत्यधिक हुने गरेको छ । खराब मौसम हुँदा उडान स्थगित हुने यस विमानस्थलबाट दुई वर्षअघि नियमित उडान शुभारम्भ भएको थियो ।





