गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। रेसुङ्गा नगरपालिका–३ का ७५ वर्षीय ज्ञानेश्वर पाण्डे गौशाला जाने सडक नजिकै मृत फेला परेका हुन्।
गर्जुरादेखि गौशाला जाने सडकबाट करिब १०–१५ मिटर तल खसेको अवस्थामा शनिबार दिउँसो २ बजे उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (DSP) गंगाबहादुर सारुका अनुसार, पाण्डे गौशालामा रहेका श्रीमती र छोरालाई भेट्न जाने क्रममा सडकबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। मृतक पाण्डे केही समयदेखि छोराछोरीसँग पालैपालो बस्दै आएका थिए। उनको परिवार पहिले तम्घासको चिदिचौर नजिकै बस्ने गरे पनि हाल गौशाला क्षेत्रमा बसोबास गर्दै आएको बुझिएको छ।
घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदिप नेपालीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याउने तयारी भइरहेको जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ।





