काठमाडौं । चितवनको सिमलतालमा भएको बस दुर्घटनाको छानबिन गर्न बनेको समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो ।
गृह मन्त्रालयका सहसचिव छवि रिजाल संयोजक रहेको समितिले मन्त्रीलाई प्रतिवेदन बुझाउँदै दुर्घटनाको कारण र न्यूनीकरणका लागि गर्नुपर्ने कामको सुझाव समेटिएको बताइएको छ । समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले कार्यान्वयनमा लैजाने बताएका छन् । प्रतिवेदन अध्ययन गरिने र सुझाव कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पठाउने उनले बताए ।
‘दुर्घटना न्यूनीकरणका लागि धेरै पक्ष जिम्मेवार रहेको विषय समितिले औंल्याएको छ । जसकारण सम्बन्धित निकायमा समेत सुझाव पठाएर कार्यान्वयनमा लैजान्छौं,’ मन्त्री लेखकले भने । समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, यातायात व्यवसायी र मजदुरका प्रतिनिधि सदस्य थिए ।
२८ असारमा चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो सहितको पहिरोले दुई वटा बसलाई त्रिशूलीमा खसालेको थियो । दुई वटा बसमा ६८ जना यात्रु थिए । ३ जनाले पौडिएर ज्यान बचाएका थिए । हालसम्म २४ जनाको शव भेटिएको छ । जसमध्ये १९ जनाको मात्रै सनाखत हुन सकेको छ । ४१ यात्रु बेपत्ता छन् भने त्रिशूलीमा खसेका बस पनि भेटिएका छैनन् ।