काठमाडौँ- अफगानिस्तानले जारी एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकालाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई १७७ रनको फाराकिलो अन्तरले पराजित गर्दै सिरिजमा २-० को जित हासिल गरेको हो ।
अफगानिस्तानले दिएको ३१२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३४.२ ओभरमा १३४ रन बनाउदा अल आउट भएपछि खेल अफगानिस्तानले १७७ रनले जितेको थियो ।दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बभुमाले सर्बाधिक ३८ रन बनाए भने टोनी डि जोर्जीले ३१ तथा एडेन मार्क्रमले २१ रन बनाएका थिए ।
दक्षिण अफ्रिकाको ब्याटिंग लाइन ध्वस्त गर्न अफगानिस्तानका राशिद खानले सर्बाधिक ५ विकेट लिएका थिए । राशिदले ५ ओभरमा एक मेडनसहित १९ रन दिएर ५ विकेट लिएका थिए । राशिद आफ्नो जन्मदिनको अवसरमा पाँच विकेट लिएका छन् । त्यस्तै अर्का बलर नान्गेयालिया खारोटेले ४ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले रह्मतुल्लाह गुर्बाजको १०५ रनको शतकीय पारी र अज्मतुल्लाह ओमारजाईको ८६ रनको योगदानमा ५० ओभरमा ४ विकेट गुमाएर ३११ रन बनाएको थियो । यो जित सँगै अफगानिस्तानले ३ खेलको सिरिज एक खेल अघि नै २-० ले जितेको छ ।
यस अघि पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो पटक एकदिवसीय खेल जितेर किर्तिमान बनाएको अफगानिस्तानले दोस्रो खेल पनि जितेर दक्षिण अफ्रिकाविरुद्ध पहिलो सिरिज पनि जितेको छ । अब सिरिजको तेस्रो तथा अन्तिम खेल आइतबार हुने छ ।