गंगु कुँवर मगर,गुल्मी। नेकपा माओवादी केन्द्र गुल्मीदरबार गाउँपालिका कमिटी गुल्मीको तेस्रो अधिवेशन सम्पन्न भएको छ । गुल्मीदरबार गाउँपालिका वडा नम्बर- ४ स्थित “सहिद हरि कँडेल स्मृति पार्क” मा सम्पन्न अधिवेशनले शेरबहादुर सर्तुङ्गी मगरलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको छ ।
सर्तुङ्गी मगर राजनैतिकसँगै विभिन्न सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । त्यस्तै अधिवेशनले उपाध्यक्षमा बालकृष्ण अर्याल , राजन रेश्मी र महिला उपाध्यक्षमा ओमकला पाण्डे, सचिवमा कमल प्रसाद कँडेल, सहसचिवमा ओमबहादुर गाहा कोषाध्यक्षमा सविता कुमाल सहित ३५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ।
पार्टीका केन्द्रीय समिति सदस्य वीरबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका विभिन्न स्थानका १० घरपरिवारलाई स्वागत तथा बधाई ज्ञापन गरिएको थियोे ।
प्रदेश सचिवालय सदस्य बुद्धिजीसीको विशिष्ट आतिथ्यता, जिल्ला समन्वय समिति सचिव अशोक थापाको विशेष आतिथ्यता , प्रदेश कमिटी सदस्य मनिराम ज्ञवाली, लोकनाथ पाण्डे शेरबहादुर सर्तुङ्गी मगर र पूर्वजन्मुक्ति सेनाका सेक्सन भिसी थम्मन सर्तुङ्गी को आतिथ्यता रहेको कार्यक्रममा ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान तथा सम्झनामा एक मिनेट मौन धारणसँगै अतिथिगणबाट शुभकामना तथा प्रशिक्षण मन्तव्य राखिएको थियो।
कमिटीका उपाध्यक्ष बालकृष्ण अर्यालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम अध्यक्ष यमलाल पाण्डेको अध्यक्षता र सचिव कमलप्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
बन्द सत्रमा कमिटीका निवर्तमान अध्यक्ष यमबहादुर पाण्डेले आफ्नो कार्यकालको राजनीतिक दस्तावेज समेत प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिहरूको उत्साहजनक उपस्थितिमा अधिवेशन सम्पन्न भएको कमिटीले जनाएको छ ।