पर्सा । वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।
महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिए । “बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै तीन दिन वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयको प्रशासनिक कार्य सञ्चालन गर्ने गरी विद्यार्थीलाई गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठनसम्बन्धी कार्य स्थगन गर्न/गराउनुहुन सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि आदेशअनुसार अनुरोध छ”, उनले भने ।
त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गत पुस २१ गते सार्वजनिक सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिए ।
- चिसोको कारण रौतहटका विद्यालयहरू धमाधम बन्द हुँदै
रौतहट । पछिल्लो एक सातादेखि चलेको शीतलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू धमाधम बन्द हुन थालेका छन्। बिहानैदेखि लगातार हुस्सु र कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरूलाई पठन पाठनमा समस्या भएको भन्दै यहाँका अधिकांश पालिकाहरूले छुट्टाछुट्टै सूचना प्रकाशित गरी विद्यालय बन्द गरिएको हो ।
रौतहटका सामुदायिक तथा निजी विद्यालयमा आज बुधबारदेखि पर्सी शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला सदरमुकाम गौर, इशनाथ, फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै चिसोको कारण तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै वार्षिक बिदाबाट कट्टा हुने गरी बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ। जिल्लाका १८ स्थानीय तह मध्ये अधिकांशले विद्यालय बन्दको सूचना जारी गरिसकेका छन्। पछिल्लो एक सातादेखि मधेस प्रदेशमा शीतलहरको कारण अत्यधिक चिसो बढेर जनजीवन प्रभावित भएको छ।