गुल्मी — गुल्मीमा स्थानीय पालिकाले वार्षिक नीति तथा कार्यक्रम मार्फत शिक्षातर्फ प्रतिस्पर्धात्मक नीति ल्याएका छन् । यहाँका केही पालिकाले चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँदेखि एक लाख ५१ हजार रुपैयाँसम्म पुरस्कार घोषणा गरेका हुन् ।
इस्मा गाउँपालिकाले कक्षा ८, १० र १२ मा अध्ययनत विद्यार्थीले वार्षिक परीक्षामा चार जिपिए ल्याउने विद्यार्थीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने उपाध्यक्ष तथा अधिवक्ता पार्वती कुँवरले घोषणा गरिन् ।
तल्लो तहदेखि नै उत्कृष्ट हुनुपर्छ भन्ने भावना ल्याउन र विद्यार्थीलाई थप प्रोत्साहित गर्न यस कार्यक्रम अगाडि बढाएको उपाध्यक्ष कुँवरले बताइन् । यस वर्षको एसईई नतिजामा चार जिपिए ल्याउने विद्यार्थीले पनि यो सुविधा पाउनेछन् । इस्मा गाउँपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक ४९ करोड ५२ लाख ३७ हजार बजेट ल्याएको छ ।
यस्तै छत्रकोट गाउँपालिकाले एसईईमा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाख ५१ हजार पुरस्कार दिने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए । विद्यार्थीलाई उत्प्रेरणा दिन शैक्षिक सत्रको सुरुमै जानकारी गराएको र अहिले नीति तथा कार्यक्रममा समेटिएको अध्यक्ष पाण्डेले बताए ।
रेसुङ्गा नगरपालिकाले एसईईमा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार दिने घोषणा गरेको छ । साथै चार जिपिए ल्याएका विद्यार्थीले रेसुङ्गा नगरपालिका भित्रका विद्यालयमा अध्ययन गरेकोमा थप ५० हजार रुपैयाँ छात्रवृत्ति समेत दिने रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।
‘गुणस्तरीय शिक्षा हाम्रो प्राथमिकतामा छ’, उनले भने, ‘विद्यार्थीलाई प्रेरणा दिन यस्ता कार्यक्रम अगाडि बढाएका छौं ।’ शिक्षातर्फको यस नीति तथा कार्यक्रमले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने अपेक्षा छ । साथै अब लगत्तै नतिजा आउन लागिरहेको एसईईका विद्यार्थी पनि यस सुविधामा जोडिनेछन् ।