काठमाडौँ । नेपाली राष्ट्रिय यू–१६ टोलीले मलेसियामा आफ्नो क्रिकेट कमाल देखाइरहेको छ । एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनलमा पुग्दा नेपाली टोलीले सबै खेल सहज ढङ्गले जित्न सफल भएको छ ।
प्रतियोगितामा हालसम्म नेपाली टोलीका खेलाडीले दुई शतक पनि प्रहार गरिसकेका छन् । सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडी पनि नेपाली टोलीबाटै छन् ।
युवा खेलाडी विपिन शर्माको कप्तानीमा रहेको नेपाली टोलीले पछिल्ला चार खेलमा नै आफूलाई अब्बल साबित गरिसकेको छ । नेपालले एक खेल २०० भन्दा माथिको रनमा जितेको छ भने एक खेल ३०० भन्दा माथिको रन स्कोरमा जितेको छ ।
यो नेपाली टोलीका लागि ठुलो कीर्तिमान पनि हो । प्रतियोगितामा नेपाली टोलीले मलेसियालाई ९० रनमा नै रोक्न सफल भएको थियो । ५० ओभरको खेल नेपालले ११ ओभर ४ बलमा सकाएको थियो ।

रौनकको सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान
रौनक श्रीवास्तव नेपाली क्रिकेट इतिहासमा व्यक्तिगत १६८ रन बनाउने पहिलो खेलाडी बने । एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेटमा भुटानविरुद्ध १६८ रन बनाएका उनी अब नेपाली टोलीका लागि एक कीर्तिमानी खेलाडी हुन् ।
रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाउँदै नेपालका लागि व्यक्तिगत स्कोरमा सर्वाधिक रन बनाउन सफल भए । उमेर समूहको खेलमा यू–१६ र यू–१९ दुवै उमेर समूहमा शतक बनाउने खेलाडीको इतिहास भने ऋत गौतमसँग छ ।
यसअघि सर्वाधिक व्यक्तिगत रन बनाउने नेपाली खेलाडीमा अर्जुन कुमाल थिए । उनले सन् २०२३ अक्टोबरमा भएको एसीसी यू–१९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १४३ रन बनाएका थिए ।

कप्तानीमा विपिनको कमाल
प्रतियोगितामा विपिनले ४ खेल खेल्दै १६ विकेट लिएका छन् । नेपाली टोलीको लिडरसिपमा डेब्यू गरेको पहिलो प्रतियोगितामा नै उनी जम्न सफल भए । विपिनले प्रतियोगिताको एक खेलमा ६ विकेट र एक खेलमा ४ विकेट लिएका छन् ।
विपिनले फ्रन्ट फुटमा रहेर टिमको हौसला यति धेरै बुलन्द गरे कि प्रतियोगितामा नेपाली टोलीले पहिले ब्याटिङ गरेको दुई खेलमा ३५० भन्दा धेरै स्कोर गर्न सफल भयो ।
नेपाली टोलीले पहिले बलिङ गर्दा दुई टोलीलाई १०० रन कटाउन दिएन । समूह चरणको खेलमा नेपालले पहिले बलिङ गर्दा जापानलाई ८० रनमा अलआउट गरेको थियो भने पहिले बलिङ गरेको सेमिफाइनल खेलमा मलेसियालाई ९० रनमा अलआउट गरेको थियो ।
नेपालले इन्डोनेसियालाई ३७० रनले हराउन सफल भयो । त्यस्तै, सिंगापुरलाई ६ विकेटले, जापानलाई ९ विकेटले, भुटानलाई २९८ रनले हराउँदा मलेसियामाथि ९ विकेटको जित निकालेको हो ।

सर्वाधिक रनको जित
नेपाली यू–१६ टिमको इतिहास र कीर्तिमान भने यकिन हालसम्म भएको छैन । तर, नेपाली क्रिकेटको इतिहासमा ३७० रनको जित भने पहिलो पटक हो । प्रतियोगितामा नेपालले इन्डोनेसियालाई ३७० रनले हराएको हो ।
प्रतियोगितामा नेपालले ४२० रन बनाएको थियो । नेपाली कुनै पनि टिमले अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ४२० रन बनाएको छैन । नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको थियो । जवाफमा ब्याटिङ गरेको इन्डोनेसियाले २४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै ५० रन बनाएको थियो ।





