हुनान । चीनको हुनान प्रान्तका एक ३३ वर्षीय पुरुषलाई हालै पेटमा असह्य पीडाको कारण अस्पताल लगिएको थियो । जब चिकित्सकहरूले सिटी स्क्यान गरे, उनीहरू स्तब्ध भए । ती व्यक्तिको पेटमा झन्डै १ फिट लामो जीवित इल माछा रहेको पत्ता लाग्यो।
हुआइहुआ डेली समाचारपत्रका अनुसार, ती पुरुष छाती फुलेको, अनुहार फिक्का भएको र अत्यधिक पसिना आएको अवस्थामा हुनान मेडिकल युनिभर्सिटी अन्तर्गतको फर्स्ट अफिलिएटेड अस्पताल पुगेका थिए। सिटी स्क्यान गर्दा पेटभित्र कुनै विदेशी वस्तु रहेको देखियो, जसले पेट छेडेर एब्डोमिनल क्याभिटीमा प्रवेश गरिसकेको थियो।
ती व्यक्तिको पेट काठजस्तै कडा भइसकेको थियो, र चिकित्सकहरूले पेटको झिल्लीमा गम्भीर सङ्क्रमण को जोखिम देखेर तुरुन्तै आपत्कालीन लेप्रोस्कोपिक शल्यक्रिया गर्ने निर्णय गरे। शल्यक्रियाको क्रममा चिकित्सकहरू अचम्ममा परे जब पेटभित्र अङ्गहरूबिच एक जीवित इल माछा पौडिरहेको देखे।
इलले सिग्मोइड कोलन (पेटको तलतिरको भाग) छेडेर प्रवेश गरिसकेको थियो। चिकित्सकहरूले क्ल्याम्प जस्तो उपकरण प्रयोग गरी इललाई समातेर निकाल्न सफल भए। त्यसपछि छेडिएको पेटको भाग सिलाइ गरेर सङ्क्रमण फैलिन नपाओस् भनेर सफा गरियो ।
चिकित्सकहरूले इल कसरी पेटभित्र पुग्यो भन्नेबारे खुलासा नगरे पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न अनुमान लगाएका छन्। चाखलाग्दो कुरा के छ भने यस्ता घटना चीनमा नयाँ होइनन्। यस्तै प्रकृतिको घटना विगत वर्षहरूमा पनि सार्वजनिक भइसकेका छन् ।
शल्यक्रिया सफल भएपछि ती पुरुषको स्वास्थ्यमा सुधार आएको छ र उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। निकालिएको इलको के भयो भन्नेबारे पनि कुनै जानकारी दिइएको छैन। इल सामान्यतया हिलोयुक्त खेत, पोखरी, नदी नाला जस्ता ठाउँमा बस्छ ।