भारतबाट उद्धार गरिएका सात बालकलाई परिवारको जिम्मा लगाइयो



नागरिक अपडेट


जनकपुरधाम । नेपालको सर्लाही तथा महोत्तरीबाट भारत पुगेका सात जना बालकहरूको उद्धार गरी आज परिवारको जिम्मा लगाइएको छ ।जनकपुरधामस्थित बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र धनुषा १०४ ले शुक्रबार भारतबाट उद्धार गरी नेपाल ल्याइएका साज जना बालबालिकाको नेपाल प्रहरी, पत्रकारसहित मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादवको उपस्थितिमा अभिभावकको जिम्मा लगाइएको हो ।

Advertisement

करिब ३ महिना पहिला भारतको तमिलनाडुको चेन्नईमा काम गर्नका लागि जाने क्रममा भारतको विहारको मुजफ्फरपुर रेल्वे स्टेशन पुगेका ती बालकहरूलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सोही ठाउँको बाल कल्याण समितिको जिम्मा लगाएपछि किंग इन्डिया्मार्फत कानूनी प्रक्रिया पुरा गरेर उद्धार गरि शुक्रबार नेपाल ल्याइएको थियो ।

Advertisement

भारतबाट उद्धार गरेर ल्याइएका बालकहरूमा सर्लाहीका विष्णु गाउँपालिकाका वर्ष १४ का दिपक मुखिया, सोही गाउँकाका वर्ष १४ कै विक्की मुखिया, सर्लाहीका हरिपुर्वा नगरपालिकाका वर्ष १७ का करण कुमार सदा रहेका छन् ।

Advertisement


त्यस्तै, उद्धार गरेर ल्याइएका महोत्तरीको भङ्गहा नगरपालिकाको सीतापुर बस्ने वर्ष १७ का फेकु सदा, सोही ठाउँका वर्ष १६ का रुपेश कुमार सदा, वर्ष १७ का निरज सदा र मटिहानी नगरपालिकाका वर्ष १७ का गोविन्द सदा रहेको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र धनुषा १०४ का प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिनुभयो ।

गरिबिका कारणले कामका खोजीमा भारत पुगेका ती बालकहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निकिता मिश्र र संघीय प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र कुमार यादवले बालकका अभिभावकहरूलाई कम उमेरमा बाहिर पठाए कानूनी कारबाहीमा पर्ने भएकाले विद्यालय पठाउन अनुरोध गर्नुभएको थियो । सो अवसरमा बालकका अभिभावकहरूले अब कामका लागि भारत नपठाउने बरु विद्यालयमा पढ्नका लागि पठाउने बताउनुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया