सडकको बीचमै बिजुलीको पोल,सवारी आवागमनमा समस्या



नागरिक संवाददाता


सलिम मियाँ,प्युठान । प्युठान नगरपालिका–४ टारीमा सडक विस्तार र कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको छ, तर बीच सडकमा रहेको बिजुलीको पोल भने हटाईएको छैन।

Advertisement

संघीय सरकारको एक करोड रुपियाँको बजेटमा टारी एनसियल टावरदेखि ढुंगेठाटीसम्मको सडक साढे सात मिटर फराकिलो बनाइएको हो। एक वर्षअघि टेण्डर भई निर्माण सुरु भएको यो सडक हाल नाला निर्माण र बेस हाल्ने काम सकेर कालोपत्रे गर्ने तयारीमा पुगेको छ। तर, बीच सडकमै पोल ठडिदा सवारी आवागमनमा समस्या भएको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ।

Advertisement

स्थानीय अनुप सुवेदीले समस्या समाधानका लागि सडक,विद्युत् प्राधिकरणदेखि मेयरसम्मलाई आग्रह गर्दा पनि कसैले नसुनेको गुनासो गर्नुभयो। उहाले भन्नुभयो,”दुर्घटना भयो भने कसले जवाफ दिने?” वडाध्यक्ष रेशम बहादुर कार्कीका अनुसार वडा नं. ४ मा मात्रै ३०–३५ वटा पोल हटाउनुपर्ने अवस्था छ। “विद्युत् प्राधिकरणले पैसा माग्छ, ठेकेदार भन्छ स्टिमेटमा छैन।

Advertisement

यस्तो दोधारका कारण काम अगाडि बढ्न सकेको छैन,” उहांले भन्नुभयो,”सवैलाई भनेर थाकियो।” नगरपालिकाले पनि पटक–पटक पोल हटाउन आग्रह गरे पनि काम हुन सकेको छैन। नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासले भन्नुभयो, “पोल हटाउन हामीलाई प्रदेश डिभिजन बुटवलको स्वीकृति चाहिन्छ।

रिचार्जेबल शीर्षकमा रकम पनि कसैले जम्मा गरेन, हामी आफैंले हटाउन सक्दैनौं।”सडक डिभिजन प्युठानका सीनियर डिभिजनल इञ्जिनियर विष्णुदास लामाले भन्नुभयो, “विद्युत् प्राधिकरणले तार हटाइदिए हामी तुरुन्तै पोल हटाउन तयार छौं।”

तर, दुबै निकायले जिम्मेवारी लिन आलटाल गरिरहेका छन। स्थानीयले समयमै पोल नहटाइए दुर्घटनाको जिम्मेवारी सम्बन्धित निकायलाई हुने चेतावनी दिएका छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया