लुम्लेमा २ सय १५ मिलिमिटर वर्षा,सतर्क रहन आग्रह



नागरिक अपडेट


काठमाण्डाै । गएरातिदेखि शुरू भएको वर्षाका कारण पहिरो जाँदा तीन जनाको ज्यान गएको छ । नेपाल प्रहरीका अनुसार पर्वतमा दुई जना र रोल्पामा एक जनाको ज्यान गएको हो ।

Advertisement

पर्वतको मोदी गाउँपालिका वडा नम्बर ३ देउराली लाङ्दीमा पहिरोले घर पुरिँदा ७० वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती विष्णुमतीको ज्यान गएको छ । यस्तै रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर ४ मा पहिरोले घर पुर्दा ७२ वर्षका गोठे घर्ती मगरको ज्यान गएको छ ।

Advertisement

यसैबीच नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोला नजिक ढुङ्गा खसेर लाग्दा तीन जना भारतीय नागरिक घाइते भएका छन् । कारमाथि ढुङ्गा खस्दा घाइते भएका तीनै जनाको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Advertisement

पहिरोका कारण सङ्खुवासभा, पाँचथर, सिन्धुपाल्चोक, रसुवा, बागलुङ, मुस्ताङ, रोल्पा, रुकुम पश्चिम र बैतडीमा राजमार्गहरू अवरुद्ध भएका छन् । वर्षाका कारण नारायणी नदीमा पानीको बहाव झन्डै तीन मिटर बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिनमा देशका सबै नदीहरूमा पानीको बहाव बढे पनि मुख्य नदीहरूमा बहाव खतराको तह पार गर्ने सम्भावना कम रहेको बताएको छ ।

हिजोदेखि सक्रिय भएको प्रणालीले सबैभन्दा धेरै वर्षा कास्कीको लुम्लेमा गराएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्लेमा २४ घण्टामा २ सय १५ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । यस्तै धनकुटाको त्रिवेणीमा १ सय ९५ मिलिमिटरभन्दा धेरै पानी परेको छ । इलाममा पनि १ सय ८१ मिलिमिटर वर्षा भएकाे छ ।

अहिले भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ । अन्यत्र बदली भएर सामान्य वर्षा भए पनि ठूलो पानी परेको छैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया