काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका दुई स्थानमा जारी वर्षा र बढ्दो नदी बहावका कारण सतर्कता अपनाउन आग्रह गरेको छ ।विभागको राति ८ बजेको अपडेट अनुसार दार्चुला जिल्लाको धर्मपानी वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा पछिल्लो एक घण्टामा मध्यम वर्षा मापन गरिएको छ ।
मौसम पूर्वानुमान अनुसार थप वर्षा हुन सक्ने भएकाले सो क्षेत्रबाट बहने साना खोलाहरूमा बहाव बढ्न सक्ने जोखिम रहेको विभागले चेतावनी दिएको छ। तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ ।
यस्तै, राति ७ः१५ बजेको अर्को अपडेटमा, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदी,नाकोटे जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरिसकेको र अझै बढ्ने क्रममा रहेको जनाइएको छ ।
तल्लो नदी तटीय क्षेत्र र डुबान हुने सम्भावना रहेका होचा भू–भागहरूमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।