गुल्मीबाटै हुँइकिन्छन् ६ दर्जन बढी विद्युतीय सवारी साधन



सन्तोष महतारा


गुल्मी — पहाडी जिल्ला गुल्मीमा डेढ वर्षको अन्तरालमा विद्युतीय सवारी साधनको संख्या ह्वात्तै बढेको छ । जिल्लाका ग्रामीण क्षेत्रसहित सदरमुकाम तम्घासदेखि बुटवलसम्म आवतजावतका रूपमा चल्ने विद्युतीय सवारी साधनको संख्यामा छोटो समयमा नै अत्यधिक वृद्धि भएको हो ।

Advertisement

मैत्री यातायात प्रालि र आँगन यातायात प्रालिले विद्युतीय सवारीसाधन सञ्चालन गर्नका लागि समिति गठन गरेर सुरु गरेका छन् । गुल्मी यातायात प्रालि र पश्चिम नेपाल बस व्यवसायी प्रालिले पनि विद्युतीय सवारीसाधन सञ्चालन गरेका छन् ।

Advertisement

मैत्री यातायातले ३०, गुल्मी यातायातले २७, आँगन यातायातले १९ र पश्चिम नेपालले ५ वटा गरी ८१ वटा विद्युतीय सवारीसाधन गुल्मीमा सञ्चालन भएका छन् । जिल्लाका ग्रामीण भेगबाट बिहान र सदरमुकाम तम्घासबाट घण्टैपिच्छे सवारीसाधन बुटवलका लागि छुट्छन् । बुटवलबाट पनि घण्टैपिच्छे सदरमुकाम तम्घास र गाउँका लागि विद्युतीय सवारीसाधन छुटिरहेका छन् ।

Advertisement

आँगन यातायात प्रालिका अध्यक्ष गोपाल थापाले सिमलटारी, इस्मा र तम्घासबाट बुटवलका लागि बिहानदेखि साँझसम्म गाडी चलिरहेको बताए । उनले भाडादर ६ सय रुपैयाँ कायम गरिएको पनि सुनाए । आँगनले विद्युतीय सवारीसाधनमा होटल र चार्जिङ स्टेसनसहित १२ करोड रुपैयाँ लगानी गरेको छ ।

‘तम्घास, अर्गली र बुटवलमा चार्जिङ स्टेसन छन्,’ उनले भने, ‘चालकलाई ट्राफिकको समन्वयमा प्रशिक्षण दिँदै व्यवस्थित रूपमा चलाइरहेका छौं ।’ आँगनका ११ र १६ सिट क्षमतामा सवारी बिहान साढे ५ बजेदेखि दिउँसो साढे ३ बजेसम्म घण्टैपिच्छे तम्घास–बुटवल र बुटवल–तम्घास चलिरहेका छन् । यसमा सबै सवारी समितिमार्फत चलेका छन् । यसमा सामूहिक लगानी छ ।

मैत्री यातायात प्रालिले भाडादर ५ सय ९० रुपैयाँ कायम गर्दै तम्घास–बुटवल बिहान ५ बजेखि साँझ ५ बजेसम्म घण्टैपिच्छे गाडी चलाइरहेको प्रालिका सदस्य तिलाचन पाण्डेले बताए । मैत्रीका १४ र १९ सिट क्षमताका गाडी छन् । मैत्री बहुउद्देश्यीय सहकारी संस्थाले लगानी गरेको यसमा मैत्री यातायात प्रालि समिति छ भने सवारी निजी छन् । व्यक्तिगत सवारीसाधन भए पनि समितिमार्फत चलिरहेका छन् ।

मैत्रीमा यात्रुका लागि थुप्रै सुविधा भएको र जिल्लामै पहिलोपटक डेढ वर्षअघि विद्युतीय सवारी साधन भित्र्याएको लगानीकर्ता तिलाचन पाण्डे दाबी गर्छन् । ‘गुल्मीमै हामीले पहिलोपटक विद्युतीय सवारी साधन ल्यायौं, यसमा अहिले आकर्षण बढेको छ,’ उनले भने, ‘हाम्रो मैत्रीमा यात्रुलाई थुप्रै सुविधा छन् ।’

मैत्री यातायातमा निःशुल्क वाइफाइ, जीपीएस सेवा, सीसी क्यामेरा जडान र निःशुल्क पिउने पानीको सुविधा रहेको छ । मैत्री बहुउद्देश्यीय सहकारीमा आबद्ध सदस्यलाई भाडामा १० प्रतिशत छुट छ । मैत्रीले १९ सिट क्षमताका ७ वटा सवारी साधन लगत्तै ल्याउँदैछ । मैत्रीमा १५ करोड रुपैयाँको लगानीमा सवारी साधन सञ्चालनमा छन् ।

गुल्मी यातायातले पनि तम्घास–बुटवल सेवाका लागि ६ सय रुपैयाँ भाडादर कायम गरेर सञ्चालन गरिरहेको कार्यालय प्रमुख डोलबहादुर कुँवरले बताए । गुल्मी यातायातले पनि ११ करोड ५० लाख रुपैयाँ बराबरको लगानी गरेको उनले बताए । गुल्मीका गाउँगाउँबाट ११ र १६ सिट क्षमताका सवारीसाधन गुल्मी यातायातले चलाइरहेको छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिले गुल्मीमा हाल ५ वटा विद्युतीय सवारीसाधन चलाइरहेको छ । जसमा दुई करोड रुपैयाँ बढीको लगानी छ । गुल्मीमा सञ्चालित विद्युतीय सवारी साधन सिजी कम्पनीको किङ्लोन, सिजीकै केवाइसी र स्वस्ति ग्रुपको ज्वलनका गाडीहरू सञ्चालित छन् ।

उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले जिल्लामा लगानी भित्रिएको र नागरिकलाई यात्रामा सहजता भइरहेको बताए । ‘पछिल्लो समय विद्युतीय सवारीको लहर छ, गुल्मीमा पनि बढेको छ,’ उनले भने, ‘स्वस्थ प्रतिस्पर्धा हुँदा यात्रुले सेवा पाउँछन्, पहिलेभन्दा निकै सहज भएको छ ।’ उनले गुल्मीमा डिजेल र पेट्रोलबाट चल्ने सीमित सवारीसाधन हुँदा भइरहेको सास्ती विद्युतीय सवारीको संख्यामा वृद्धि भएपछि हटेको बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया