गुल्मीमा फरार भनिएका ट्र्याक्टर चालक बालुवाको थुप्रोमा मृत भेटिए



सन्तोष महतारा


गुल्मी —ट्र्याक्टर दुर्घटनापछि फरार भनिएका चालक बालुवाको थुप्रोमा मृत भेटिएका छन् । चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरमा बिहीबार राति दुर्घटनामा परेको लु २ त ३९३५ नम्बरका ट्र्याक्टरका चालक सोही ट्र्याक्टरले बोकेको बालुवामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक पर्वतकुमार केसीले जानकारी दिए ।

Advertisement

सडकबाट करिब २० मिटर तल खेतमा पल्टिएको ट्र्याक्टर स्थानीयले शुक्रबार बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए । ट्र्याक्टर दुर्घटना भएको र चालक त्यहाँ नभएपछि फरार भएको भन्दै ट्र्याक्टर मर्मतका लागि घटनास्थलबाट निकाल्न लागिएको थियो ।

Advertisement

त्यसक्रममा त्यही ट्र्याक्टरले बोकेको बालुवा पोखिँदा बनेको थुप्रोमा चालक सत्यवती गाउँपालिका-६ का २५ वर्षीय सुरज सार्की मृत भेटिएका प्रहरी निरीक्षक केसीले पुष्टि गरे । घटनास्थलमा प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बिकको कमान्डमा दुई जना गएका थिए । त्यसक्रममा ट्र्याक्टरधनी सोही ठाउँका होमबहादुर घर्तीसहित प्रहरी घटनास्थलमा पुगेको थियो ।

Advertisement

ट्र्याक्टर मर्मतका लागि घटनास्थलबाट निकाल्ने क्रममा बालुवाले पुरिएको अवस्थामा व्यक्तिको खुट्टाको भाग देखेपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माँझीको कमान्डमा पाँच जनाको टोली खटिएको थियो । बालुवाको थुप्रोमा मृत फेला परेका व्यक्ति ट्र्याक्टर चालक नै रहेको सवारीधनी घर्तीले पहिचान गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया