काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रमा भोलिदेखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को नमुना (स्याम्पल) छपाइ हुने भएको छ । केन्द्रको बनेपास्थित छपाइ केन्द्रमा नमुना छपाइको तयारी पूरा भएको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले जानकारी दिएका छन् ।
उनका अनुसार नमुना छपाइ सफल भएमा चाँडै नै नियमित रूपमा लाइसेन्स छपाइ कार्य सुरु गरिनेछ । निर्देशक खतिवडाले भने, “भोलि स्याम्पल छापिन्छ र सबै कुरा ठिकठाक देखिएमा छिट्टै नियमित छपाइ सुरु हुन्छ । अब लाइसेन्स छपाइको कामलाई हाउगुजीको रूपमा लिनु नपर्ने अवस्था देखिएको छ ।”
यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच भएको सहमति अनुसार केन्द्रले पहिलो चरणमा ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्नेछ । निर्देशक खतिवडाका अनुसार केन्द्रले स्रोत साधन बढाएर ३ महिनामै उक्त परिमाणको लाइसेन्स छाप्न सक्ने सम्भावना पनि देखिएको छ ।
हालसम्म ट्रायल पास गरेका करिब २५ लाख व्यक्ति लाइसेन्स पर्खाइमा रहेका छन् । बजेट अभावका कारण विभागले सुरक्षण मुद्रण केन्द्रसँग सुरुवाती रूपमा १२ लाख थान छपाइको लागि मात्र सहमति गरेको हो ।
“मन्त्रालयसँग थप बजेट मागेर बाँकी १३ लाख थान लाइसेन्स पनि एक वर्षभित्रै छाप्ने हाम्रो लक्ष्य छ,” खतिवडाले भने, “मन्त्रालयले यो आर्थिक वर्षमै बजेट उपलब्ध गराउने कि अर्को आवमा गर्ने भन्ने कुरा भने अझै टुंगो लागेको छैन ।”





