शिक्षा, संस्कार र सहभागिताको संगम: सिद्धेश्वर लालकुमारी माविको ४४ औँ वार्षिकोत्सव सम्पन्न



नागरिक संवाददाता


केशव खड्का ,जापान। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न विद्यालयको ४४औँ वार्षिक उत्सव तथा ऐतिहासिक समारोहमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले शिक्षाको गुणस्तर शिक्षकको समर्पण, विद्यार्थीको मेहनत र अभिभावकको विश्वासमा निर्भर रहने उल्लेख गर्नुभयो। उहाँले समाजमा राम्रो काम गर्ने व्यक्तिलाई हौसला दिनु आवश्यक रहेको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षकहरूको सम्मान अनिवार्य भएको धारणा व्यक्त गर्नुभयो। बुटवल उपमहानगरपालिका कुरामा होइन, काममा विश्वास गर्ने संस्थाका रूपमा अघि बढिरहेको समेत उहाँको भनाइ थियो।

Advertisement

Advertisement

वार्षिक उत्सवकै अवसरमा नगर प्रमुख पाण्डेले विद्यालय परिसरमा नवनिर्मित भवनको औपचारिक उद्घाटन पनि गर्नुभएको थियो। कार्यक्रममा वडा नं. ७ का अध्यक्ष पदमराज गाहा, विद्यालयका प्रधानाध्यापक दिननाथ गिरी, शिक्षक–अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद ज्ञवाली, निर्माण समिति अध्यक्ष शान्ता शर्मा लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

यसै अवसरमा २०८१ सालको एसईई परीक्षामा नेपालकै सर्वोत्कृष्ट जीपीए ४ ल्याउन सफल छात्रा सुदिक्षा सुवेदीलाई २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। साथै एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।

विद्यालयको ४४औँ वार्षिक उत्सव समारोहमा अभिभावक, शिक्षाप्रेमी, सामाजिक अभियन्ता, भद्रभलाद्मी, राजनीतिक तथा सामाजिक व्यक्तित्व, विभिन्न संघ–संस्थाका प्रतिनिधि, अक्षयकोष दाता, चन्दादाता, निर्माण समितिका पदाधिकारी, कलाकार, विभिन्न विद्यालयका शिक्षक तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई थप आकर्षक बनाउन कलाकारहरूद्वारा विविध नाचगान प्रस्तुत गरिनुका साथै स्काउट विद्यार्थीहरूले समेत आफ्ना कला प्रदर्शन गरेका थिए। कार्यक्रमको सञ्चालन कैलास गौतमले गर्नुभएको थियो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया