संघर्षको बीउबाट उम्रिएको आशा : प्रेम विश्वकर्माको यात्राले नयाँ पुस्तालाई दिशा दियो



नागरिक संवाददाता


प्यूठान । जीवनले कसैलाई सजिलो बाटो देखाउँदैन, तर कसैले कठिन बाटोलाई नै गन्तव्य बनाइदिन्छ । प्रेम बहादुर विश्वकर्माको जीवन त्यस्तै एउटा यात्राको कथा हो—जहाँ अभाव, पीडा र संघर्षले उनको पाइलालाई रोकेनन्, बरु अझ मजबुत बनाए ।

Advertisement

१२ वर्षको उमेरमा मजदुरीका लागि भारत पुगेको एउटा बालक आज २६ वर्षको उमेरमा संघीय संसद्‌को ढोका ढकढक्याइरहेको छ । यो केवल व्यक्तिगत उन्नतिको कथा होइन, यो सम्भावनालाई हार्न नदिने पुस्ताको घोषणापत्र हो । प्यूठानको दुर्गम गाउँमा २०५६ सालमा जन्मिएका प्रेमको बाल्यकाल सहज थिएन ।

Advertisement

बुवा ओमबहादुर विश्वकर्मा माओवादी जनयुद्धमा संलग्न हुँदा परिवार अभाव र त्रासबीच बाँच्यो । शान्ति प्रक्रिया आयो, तर बुवाको जीवनमा परिवर्तन आएन । उनी पुनः ज्याला मजदुरीमै फर्किए र २०६८ साल पौषमा मजदुरीकै क्रममा भएको दुर्घटनाले उनको जीवन अन्त्य भयो ।
त्यतिबेला प्रेम मात्र १२ वर्षका थिए ।

Advertisement

“सफलता र असफलता `S´आकारमा चल्ने गर्छ त्यसैले सफलतामा नमात्तिकन संयमितरुपमा अगाडि
बढ्नु पर्छ भने असफलतामा नआत्तिकन सावधानीपूर्वक कदम चाल्नु पर्छ।”

बुवाविहीन घर, आमाको मौन आँसु र सहाराको खोजीमा रहेका भाइबहिनीहरू—त्यही दृश्यले उनलाई समयअगावै परिपक्व बनायो । घरको जिम्मेवारी काँधमा बोकेर उनी मजदुरी खोज्दै भारत पुगे । बालपनमै जीवनको कठोर पाठ पढेका प्रेम एक वर्षपछि घर फर्किए, र आमाले छोरालाई फर्काएर आफू पाँच सन्तानको भविष्य बोकेर कुवेततर्फ लागिन् ।

आमा परदेशमा पसिना बगाइरहँदा प्रेमले पढाइलाई जीवनको एक मात्र बाटो बनाए । गरिबी, विभेद र अवसरको असमानता उनले पुस्तकमा होइन, जीवनमै अनुभूत गरेका थिए । त्यसैले विद्यालयमै रहँदा बालक्लब र रेडक्रसमा सक्रिय हुँदै उनी बालबालिकाका पीडाको आवाज बन्न थाले ।

२०७३ सालमा जिल्ला बाल सञ्जाल गठन हुँदा उनी अध्यक्ष बने । बालविवाह न्यूनीकरण र बालश्रम अन्त्यका लागि उनले गरेको निरन्तर प्रयासले प्यूठान जिल्लामा गहिरो प्रभाव छोड्यो । १७ वर्षको उमेरमै उनको सक्रियताले राजनीतिक दल र प्रशासनको ध्यान तान्यो । चार वर्षसम्म सञ्जालको नेतृत्व गर्दा उनी जिल्लाभर परिचित बने ।

तर समाज परिवर्तनको यात्रामा उनले एउटा सत्य बुझे। सत्ताको केन्द्रमा नपुग्दासम्म गहिरो परिवर्तन सम्भव हुँदैन । यही बोधले उनलाई माओवादी निकट विद्यार्थी राजनीतितर्फ डोर्‍यायो । मुक्ति मावि रातामाटा हुँदै स्वर्गद्वारी क्याम्पसबाट राजनीति शास्त्रमा स्नातक गरेका प्रेम सधैं अध्ययनमा अब्बल रहे ।

स्वर्गद्वारी क्याम्पसमा प्रथम भएका उनी हाल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, कीर्तिपुरमा राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययनरत छन् । त्यससँगै, न्याय र राज्यव्यवस्थालाई व्यवहारिक रूपमा बुझ्ने उद्देश्यले नेपाल ल क्याम्पसमा कानुन विषयमा स्नातक तहको अध्ययन पनि सँगसँगै अघि बढाइरहेका छन् ।

अध्ययन, संगठन र सामाजिक उत्तरदायित्वलाई एउटै धारमा अघि बढाउँदै आएका प्रेम केवल भावनाले होइन, ज्ञान, नीति र कानुनी चेतनाले निर्देशित नेतृत्व को रूपमा उदाइरहेका छन् । आज, यही संघर्ष, साधना र निरन्तरताको परिणामस्वरूप, नेपाली कम्युनिस्ट पार्टीले उनलाई जेन–जी (नवयुवा) प्रतिनिधित्व गर्दै संघीय संसद्‌को प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि प्यूठानबाट सिफारिस गरिएका सात जनामध्ये उनी एक हुन् । कुवेतको तातो घाममुनि पसिना बगाइरहेकी आमाले जब फेसबुकमा छोराको नाम संसद्‌सँग जोडिएको देखिन्, त्यो क्षण केवल आमाको गर्वको क्षण थिएन—त्यो संघर्षले जितेको मौन विजय थियो ।

प्रेम विश्वकर्माको कथा आज हजारौँ युवाका लागि एउटा जीवित सन्देश बनेको छ। गरिबी बाधा होइन, संघर्ष कमजोरी होइन, र परिधिबाट आएको मान्छे पनि केन्द्रमा पुग्न सक्छ । यो कथा बताउँछ, संघर्ष अन्त्य होइन, परिवर्तनको सुरूवात हो । र जब संघर्षको फल पाक्छ, त्यो एक जनाको सफलता होइन, एउटा पुस्ताको आशा बन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया