सिद्धेश्वरका कक्षा ११ का विद्यार्थीद्वारा कक्षा १२ का विद्यार्थीलाई टीका खादासहित विदाई



नागरिक संवाददाता


केशव खड्का, बुटवल । सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालय बुटवल–७, दीपनगरमा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीहरूलाई टीका तथा खादा सहित भव्य रूपमा विदाई गरेका छन्। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रम कक्षा ११ का विद्यार्थी सन्तोष एडिजको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन वीरबहादुर सारुले गर्नुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागरप्रसाद न्यौपाने प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै, प्रधानाध्यापक दिननाथ गिरी र बुटवल–७ का जनप्रतिनिधि सन्दिप खनाल विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो।

Advertisement

कार्यक्रमको सुरुवात कक्षा ११ का तर्फबाट देवकुमारी थापाले स्वागत मन्तव्य राख्दै गर्नुभएको थियो। उहाँले कक्षा १२ का विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै विद्यालयसँग जोडिएका मीठा सम्झनाहरूलाई सधैं मनमा राख्न आग्रह गर्नुभयो।

Advertisement

कार्यक्रमको विशेष आकर्षणको रूपमा कक्षा १२ का विद्यार्थीहरूलाई टीका तथा खादा लगाई सम्मानसहित विदाई गरिएको थियो। यस क्रममा विद्यार्थीहरूबीच भावुक वातावरण सिर्जना भएको थियो भने आपसी माया, सद्भाव र सम्मानको भावना प्रष्ट रूपमा देखिएको थियो।

कक्षा १२ का तर्फबाट शुभकामना मन्तव्य राख्दै पत्रकार केशव खड्काले आफ्नो अनुभव साटासाट गर्नुभयो। उहाँले विद्यार्थी जीवनको महत्व, संघर्ष र सफलताको यात्राबारे प्रेरणादायी भनाइ प्रस्तुत गर्दै सबैलाई आफ्नो लक्ष्यप्रति दृढ रहन सुझाव दिनुभयो।

कार्यक्रममा सह–प्रधानाध्यापक लेखनाथ पौडेल, शिक्षक शान्ता शर्मा तथा कक्षा ११ र १२ का संयोजक कैलाश गौतमले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो। उहाँहरूले विद्यार्थीहरूलाई अनुशासन, मेहनत र आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरणा दिनुभयो।

त्यसैगरी, जनप्रतिनिधि सन्दिप खनाल, प्रधानाध्यापक दिननाथ गिरी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागरप्रसाद न्यौपानेले मन्तव्य राख्दै कक्षा १२ का विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। उहाँहरूले शिक्षा जीवनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै आगामी यात्रामा सफलताको कामना व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य आनन्द शर्मा, शिक्षक–स्टाफ, कर्मचारी तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, गीत–संगीत तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले वातावरणलाई अझ रमाइलो बनाएको थियो।

अन्त्यमा अध्यक्ष सन्तोष एडिले सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको घोषणा गर्नुभयो। टीका तथा खादा सहित सम्पन्न यस विदाई कार्यक्रमले कक्षा १२ का विद्यार्थीहरूलाई नयाँ यात्रातर्फ अघि बढ्न प्रेरणा दिएको मात्र होइन, विद्यालय जीवनका अमूल्य सम्झनाहरूलाई अझ जीवन्त बनाएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया