गुल्मीको पदम बहादुर माविका पूर्व विद्यार्थीहरूको अभियान – विद्यार्थी कल्याणकारी कोष



नागरिक संवाददाता


गंगु कुँवर मगर ,गुल्मी । पदम बहादुर माध्यमिक विद्यालय गुल्मीदरबार -१, बलिथुम गुल्मीका पूर्व विद्यार्थीहरूले विद्यार्थी कल्याणकारी कोष स्थापना तथा न्यानो कपडा वितरण कार्यक्रमलाई अघि सारेका छन्।

Advertisement

पूर्व विद्यार्थीहरूको आयोजनामा सुरु गरिएको उक्त कार्यक्रम मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई अहिलेको यो जाडो याम लक्षित सहयोग प्रदान गर्ने उद्देश्य राखिएको पूर्व विद्यार्थी तथा कार्यक्रम परिचालन संयोजक दीपक पन्थीले जानकारी दिनुभयो। साथै उहाँले यस कार्यक्रममा खुल्ला मनले सहभागी हुन इच्छुक विद्यालयका पूर्व विद्यार्थी दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्दै २–४ जना पूर्व विद्यार्थीबाट सुरु गरिएको अभियानमा हाल झण्डै ३०० जना पूर्व विद्यार्थीहरू आवद्ध भइसकेको बताउनुभयो ।

Advertisement

त्यस्तै हालसम्म करिब ५५ जना सहयोगीदाताबाट आर्थिक सहयोग प्राप्त भइसकेको र कुल २ लाख १० हजार रुपैयाँ संकलन भएको पनि उहाँले बताउनुभयो। संकलित रकमबाट सबै विद्यार्थीलाई जाडोका लागि न्यानो कपडा वितरण गरिनेछ भने बाँकी रकम विद्यार्थी कल्याणकारी अक्षयकोषमा जम्मा गरिने योजना रहेको र अक्षयकोष मार्फत प्रत्येक वर्ष जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई लक्षित गरी विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको पनि संयोजक पन्थीले स्पष्ट पार्नुभयो।

Advertisement

उहाँले भन्नुभयो – कार्यक्रमको दीर्घकालीन उद्देश्य भनेको यस विद्यालयमा २०१८ साल देखि हालसम्म विद्यालयमा अध्ययन गरिसकेका सम्पूर्ण विद्यार्थीहरूलाई एउटै समूहमा आबद्ध गराउनु रहेको र हाल विद्यालय केन्द्रित कार्यक्रम भए पनि आगामी दिनमा यही समूहमार्फत गाउँ तथा समाजमा आइपर्ने विभिन्न समस्या समाधानका लागि योजनाबद्ध रूपमा अघि बढ्ने लक्ष्य लिइएका छौँ ।

साथै, कार्यक्रम सफल बनाउन देश तथा विदेशबाट दिन–रात नभनी खुला मनले सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूलाई आयोजक टोलीले हार्दिक धन्यवाद व्यक्त गरेको समेत बताउनुभयो । हाल सहयोगीदाताहरूको नामावली पदमबहादुर माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्च फेसबुक पेज मार्फत जानकारी दिइएको र यसलाई थप व्यवस्थित र पारदर्शी बनाएर अगाडि बढाउनको लागि समिति गठन गर्ने तयारी रहेको पनि पन्थीले जानकारी दिनुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया