गंगु कुँवर मगर, गुल्मी । नेपाल मगर संघ गुल्मीदरबार गाउँपालिका, गुल्मीको विशेष बैठक जुभूङ्गमा सम्पन्न भएको छ। बैठकले आउँदो फाल्गुन १५ गते मनाउन गइरहेको ४४औँ राष्ट्रिय मगर एकता दिवसलाई गुल्मीदरबार गाउँपालिका वडा नं.–२,जुभुङ्ग, ठुलाचौरमा भव्य र सभ्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ।
मगर समुदायको भाषा, कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रमा मगर संस्कृतिलाई झल्काउने झाँकीसँगै विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्। जसअन्तर्गत मगर संस्कृतिको झल्को दिने झाँकीहरू, सोरठी नाच, मगर पुरुष तथा महिला पञ्चेबाजा, सालैजो , झ्याउरे, कौडा, फाउ(फागु) नाच लगायत स्थानीय कलाकारहरूको विजोड प्रस्तुति रहनेछन्।
त्यसैगरी कार्यक्रममा मगर परिकार स्थलको व्यवस्था,मगर परम्परागत चलन चल्तीका सामाग्री प्रदर्शनी र विभिन्न स्थल राखिने आयोजकले जनाएको छ। कार्यक्रम नेपाल मगर संघ गुल्मीदरबार गाउँपालिकाको आयोजनामा तथा नेपाल मगर संघ वडा नं. २ वडा कमिटी जुभूङ्गको सह–आयोजनामा सम्पन्न हुने भएको छ ।
त्यस्तै बैठकले गुल्मीदरबार गाउँपालिकाबाट नेपाल मगर संघ जिल्ला समन्वय समितिमा चयन हुनुभएका सचिव शेरबहादुर सर्तुङ्गी,सह-सचिव सूर्यबहादुर कुँवर मगर र सदस्य असुन सराङ्गकोटीलाई हार्दिक बधाई दिंदै सम्मान समेत गरेको थियो ।








